अधिवक्ता कमल कोइरालाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन। निर्वाचन आयोग, नेपालमा आज उनको उम्मेदवारी मनोनयन दर्ता भएको हो।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै अधिवक्ता कोइरालाले नेपालका लागि रुपान्तरणात्मक भिजन प्रस्तुत गर्दै जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले देशका महत्वपूर्ण राष्ट्रिय समस्याहरूलाई रचनात्मक नीति, कानुनी सुधार र दीर्घकालीन योजनामार्फत समाधान गर्ने लक्ष्य लिएको बताए।

परम्परागत राजनीतिभन्दा फरक दृष्टिकोण प्रस्तुत गर्दै कोइरालाले जोखिम न्यूनीकरण, दिगो विकास र नागरिकको जीवनस्तर सुधारमा केन्द्रित कानुन तथा नीतिहरू निर्माण गर्ने एजेन्डा अघि सारेका छन। उनको प्राथमिकतामा खाद्य सार्वभौमिकता, क्षमता निर्माण तथा ब्लकचेन, कृत्रिम बुद्धिमत्ता, क्वान्टम वित्तीय प्रणालीजस्ता उदीयमान प्रविधिहरूको प्रयोग समावेश छ।

त्यसैगरी, नौकरशाही सुधार र सशस्त्र बलको पुनर्गठनमार्फत सुशासन मजबुत बनाउने विषयलाई पनि उनले आफ्नो प्रमुख एजेन्डामा रहेको छ। आर्थिक क्षेत्रमा कर सुधार, डिजिटल अर्थतन्त्रको प्रवद्र्धन र आर्थिक सार्वभौमसत्तामा आधारित स्व–रोजगारी सिर्जनालाई प्राथमिकता दिने कोइरालाको भनाइ छ।

शिक्षा र स्वास्थ्यलाई मानव पूँजी निर्माणका आधारस्तम्भ तथा मौलिक मानवअधिकारका रूपमा व्याख्या गर्दै उनले यी क्षेत्रमा राज्यको लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए। साथै, नेपालको सांस्कृतिक सम्पदाको संरक्षण गर्दै कृषि पर्यटन, खेलकुद पर्यटन, चिकित्सा पर्यटन र सम्पदा आधारित अर्थतन्त्रमार्फत दिगो पर्यटन विकास गर्ने योजना पनि उनले अघि सारेका छन।

सामाजिक समावेशीतालाई जोड दिँदै अधिवक्ता कोइरालाले पार्टी आधारित सिन्डिकेट अन्त्य गरी जेनेरेशन लगायत सबै पुस्तालाई राजनीतिक प्रक्रियामा सहभागी गराउने प्रतिबद्धता जनाए। डिजिटल साक्षरताको विकास, साइबर सुरक्षाको मजबुती र सबै प्रकारका भेदभावविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने उनको भनाइ छ।

अधिवक्ता कोइरालाले नेपाललाई विश्वसामु गौरवपूर्ण, भूराजनीतिक रूपमा भरपर्दाे र शान्त राष्ट्रका रूपमा स्थापित गर्न जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे। नवप्रवर्तन, समावेशीता र राष्ट्रप्रतिको उत्तरदायित्वलाई सँगै अघि बढाउने उहाँको उम्मेदवारीलाई आगामी निर्वाचनका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय