नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाराका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीले सोमबार गरेकाे उम्मेदवार छनाेटमा एकजना बाहेक तीनजना नयाँ अनुहारलाई अघि सारेको छ।

नेकपा पार्टीका अनुसार बारा क्षेत्र नम्बर १ मा सन्तोष दंगाल, क्षेत्र नम्बर २ मा रमेशप्रसाद यादव, क्षेत्र नम्बर ३ मा भरत साह र क्षेत्र नम्बर ४ मा अजय कुशवाहालाई उम्मेदवार बनाइएको हो।

क्षेत्र नम्बर २ का उम्मेदवार रमेशप्रसाद यादवबाहेक अन्य तीन उम्मेदवार यसपटक पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

क्षेत्र नम्बर १ का उम्मेदवार सन्तोष दंगाल तत्कालीन माओवादी केन्द्र निजगढ नगरपालिका कमिटीका अध्यक्ष रहिसकेका छन्। क्षेत्र नम्बर २ का उम्मेदवार रमेशप्रसाद यादव ०७४ मा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका नेता हुन्। क्षेत्र नम्बर ३ का उम्मेदवार भरत साह एमाले विभाजनपछि एकीकृत समाजवादी हुँदै नेकपामा समाहित भएका हुन्।

यसैगरी, बारा क्षेत्र नम्बर ४ का उम्मेदवार अजय कुशवाहा अन्तर्राष्ट्रिय बास्केटबल खेलाडी हुन्। उनले सन् २०१७ यता इन्डोनेसिया, माल्दिभ्स, श्रीलंका, भारत र बंगलादेशमा नेपालका तर्फबाट निरन्तर सहभागिता जनाउँदै आएका छन्। खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव बटुलेका कुशवाहालाई पार्टीले युवा र नयाँ पुस्ताको प्रतिनिधि भन्दै अघि सारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय