प्रकाशित सामग्रीप्रति चित्त नबुझेको भन्दै स्पर्श खबर डटकमका पत्रकार मनोज साहमाथि हातपात तथा दुव्र्यवहार गरिएको घटनाले जिल्लाको पत्रकारिता क्षेत्रलाई स्तब्ध बनाएको छ। उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ बाराले गम्भीर ध्यानाकर्षण जनाउँदै कडा शब्दमा निन्दा गरेको छ।
महासंघका अनुसार पत्रकार साहले २०८२ माघ ४ गते निर्वाचनको समयमा नेताहरू तथा कार्यकर्ताहरूले दल परिवर्तन गर्दै हिँड्ने प्रवृत्तिबारे सामाजिक सञ्जालमा सामग्री प्रकाशित गरेका थिए। उक्त सामग्रीप्रति असन्तुष्टि जनाउँदै २०८२ माघ ५ गते बिहान मर्निङ वाकका लागि निस्किएका बेला जीतपुरका स्थानीय कपुरराज पुरीसहित ३–४ जनाको समूहले उनीमाथि आक्रमण गरेको बताइएको छ।



प्रत्यक्षदर्शीका अनुसार बिहानको समयमा एक्कासि आक्रमण गरिएको थियो। आक्रमणका क्रममा पत्रकार साहलाई कुटपिट गर्नुका साथै गालीगलौज र धम्कीसमेत दिइएको जनाइएको छ। आक्रमणबाट उनको टाउको र आँखामा गम्भीर चोट लागेको छ। घाइते साहलाई उपचारका लागि तत्काल अस्पताल र्पुयाइएको थियो। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।
नेपाल पत्रकार महासंघ बाराले जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको ठहर गर्दै यस्ता गतिविधि लोकतान्त्रिक मूल्य, मान्यता र संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको उल्लेख गरिएको छ। महासंघले पत्रकारमाथि गरिएको आक्रमण कुनै पनि बहानामा स्वीकार्य नहुने स्पष्ट पारेको छ।
महासंघले घटनाको निष्पक्ष र गहिरो छानबिन गरी दोषी पहिचान गरेर तत्काल कानुनी दायरामा ल्याउन तथा हदैसम्मको कारबाही गर्न सम्बन्धित सुरक्षा निकाय र सरोकारवाला निकायसँग माग गरेको छ। साथै, पत्रकार साहको व्यक्तिगत सुरक्षाको सुनिश्चितता गर्न स्थानीय प्रशासनसँग समेत आग्रह गरिएको छ।
नेपाल पत्रकार महासंघ बाराले सत्य तथ्यमा आधारित समाचार तथा विचार प्रस्तुत गर्नु पत्रकारको कर्तव्य र अधिकार भएको उलेख गर्दै त्यसविरुद्ध हिंसा, धम्की र दबाब प्रयोग गर्नु गम्भीर अपराध भएको बताएको छ। महासंघले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन राज्यका निकाय गम्भीर बन्नुपर्नेमा जोड दिएको छ।
महासंघले पत्रकारिता क्षेत्रमाथि हुने कुनै पनि किसिमका आक्रमणविरुद्ध सशक्त रूपमा उभिने र आवश्यक परे थप आन्दोलनका कार्यक्रमसमेत अघि बढाउने चेतावनी दिएको छ।
यसैबीच इलाका प्रहरी कार्यालय जीतपुरले घटनामा संलग्न रहेको आरोपमा कपुरराज पुरीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा बुझाएको छ। इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले पुरी पक्राउ परेको पुष्टि गर्दै घटनाबारे औपचारिक रूपमा जानकारी दिएका छन।
प्रहरी नायव उपरीक्षक जोशीका अनुसार घटनापछि तत्काल अनुसन्धान प्रक्रिया अघि बढाइएको छ र घटनासँग सम्बन्धित सबै पक्षको सूक्ष्म छानबिन भइरहेको छ। उनले पत्रकार मनोजजी हाल उपचारका क्रममा वीरगन्जमा रहेको जानकारी गराउँदै स्वास्थ्य अवस्थाबारे पनि प्रहरी निरन्तर सम्पर्कमा रहेको बताए।
उनका अनुसार मुख्य आरोपीलाई नियन्त्रणमा लिएसँगै घटनाको पृष्ठभूमि, संलग्न अन्य व्यक्तिहरूको भूमिकाबारे समेत अनुसन्धान केन्द्रित गरिएको छ। आवश्यक प्रमाण संकलन, बयान लिने प्रक्रिया तथा कानुनी दायराभित्र रही थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।







