आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरीका रूपमा खटाइने म्यादी प्रहरीमा भर्ना हुन बारामा ८ हजार ४ सय ३७ जनाले आवेदन दिएका छन।
पुस २५ गतेदेखि सुरु भएको आवेदन प्रक्रिया हिजो अन्तिम दिनसम्म सञ्चालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार नेपाल प्रहरीतर्फ पुरुष ५ हजार ५ सय ८१ जना र महिला १ हजार १ सय ९२ जना गरी कुल ६ हजार ७ सय ७३ जनाले आवेदन दिएका छन।



त्यस्तै सशस्त्र प्रहरी बल नेपालतर्फ पुरुष १ हजार ४ सय ७१ जना र महिला १ सय ९३ जना गरी कुल १ हजार ६ सय ६४ जनाले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएका छन।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैतर्फ गरी कुल ८ हजार ४ सय ३७ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय राज पण्डितले जानकारी दिए।
प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाराले ४ हजार ३४ जना म्यादी प्रहरीको माग गरेको छ। मागभन्दा दोब्बाभन्दा बढी आवेदन परेपछि प्रतिस्पर्धा कडा हुने देखिएको छ।
आवेदन दिएका उम्मेदवारहरूको छनोट प्रक्रिया चाँडै सुरु गरिने र आवश्यक तालिमपछि निर्वाचन सुरक्षामा खटाइने जनाइएको छ।






