काठमाडौँ । नेपाललाई फेरि महान बनाउने अभियानले जनभावना अनुरूप तत्काल निर्णायक कदम चाल्न आग्रह गर्दै राष्ट्रपतिलाई सम्बेधन गर्दै विज्ञप्ति जारी गरेको छ। अभियानका महासमिति सभापति निर्देश सेढाई र जेन–जी महासमिति सदस्य सवल गौतमद्वारा हस्ताक्षरित विज्ञप्ति सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको हो।
विज्ञप्तिमा २०६२ र ०६३ को राजनीतिक परिवर्तन, २०७२ मा संविधान जारी भएपछि र पछिल्ला जनआन्दोलनपश्चात पनि राष्ट्रियता, राष्ट्रिय एकता, स्वाभिमान, विकास र सुशासनप्रतिको जनआकांक्षामाथि निरन्तर धोका हुँदै आएको दाबी गरिएको छ। देश भौगोलिक जटिलता भएका राष्ट्रसरह गम्भीर अनिश्चिततामा फस्दै गएको र वर्तमान राज्य संरचना, राजनीतिक अभ्यास तथा सत्ता सञ्चालनको शैलीले संकट समाधान गर्न नसक्ने अवस्था स्पष्ट भइसकेको उल्लेख छ।



अभियानले प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहित वैदिक सनातन धर्म हिन्दू, बौद्ध, किरात, जैन, सिख आदि सापेक्ष स्वतन्त्र लोकतान्त्रिक संवैधानिक राजसंस्था स्थापना गर्नुपर्ने माग अघि सारेको छ।
आयोजकका अनुसार सोही उद्देश्यसहित भोलि पौष ३० गतेदेखि अनिश्चितकालीन अन्तिम जनआन्दोलनको घोषणा गरिएको जनाउँदै, आन्दोलनअघि नै सर्वपक्षीय नवीन समझदारी कायम गरी अन्तरिम संविधान घोषणा गर्न, अभियानको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न र राष्ट्रपति स्वयंले राजीनामा दिनुपर्ने आग्रह गरिएको छ।
विज्ञप्तिको अन्त्यमा नेपाललाई पुनः महान राष्ट्र बनाउने इच्छाशक्ति भगवान श्री पशुपतिनाथ, माता सीता र भगवान बुद्धबाट प्राप्त हुने विश्वास व्यक्त गरिएको छ।







