बारा । जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित कृष्ण मोबाइल पसलमा विद्युतीय स्क्यानर प्रयोग गरी ठगी गरिरहेको अवस्थामा दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रमोद शाहका अनुसार पक्राउ पर्नेमा जीतपुरसिमरा–१७ रामनगर निवासी २० वर्षीय अविनाश घिसिङ र सोही स्थानका सिमोन लामा रहेका छन्। उनीहरूलाई घटनास्थलबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय जीतपुरमा बुझाइएको कृष्ण मोबाइल पसलका सञ्चालक कृष्ण गुप्ताले जानकारी दिए।



गुप्ताका अनुसार ती युवाहरूले अन्य विभिन्न मोबाइल पसलहरूमा समेत यस्तै किसिमको विद्युतीय ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धानका लागि पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको प्रहरी प्रमुख शाहले बताए।
पछिल्लो समय मोबाइल पसल तथा साना व्यवसायीलाई लक्षित गरी विद्युतीय ठगीका घटनाहरू बढ्दै गएको भन्दै प्रहरीले सबै व्यवसायीलाई सचेत र सतर्क रहन आग्रह गरेको छ।






