रौतहट । लायन्स क्लब अफ काठमाडौँ समृद्धिले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाका विभिन्न वडामा न्यानो कपडा तथा सिरक वितरण गरेको छ।

चिसो मौसममा पीडितहरूलाई राहत पुर्‍याउने उद्देश्यसहित लायन्स क्लब अफ काठमाडौँ समृद्धि र लायन्स क्लब अफ काठमाडौँ सेन्ट्रलको संयुक्त आयोजनामा चन्द्रपुर नगरपालिका वडा नम्बर ५, ७ र ८ मा शीतलहर प्रभावित परिवारहरूलाई न्यानो कपडा तथा सिरक वितरण गरिएको हो।

तराई क्षेत्रमा प्रत्येक वर्ष चिसो शीतलहर र स्याँठका कारण दर्जनौँ मानिसको ज्यान जाने गरेको तथ्यलाई मध्यनजर गर्दै यस्तो मानवीय सहयोग गरिएको लायन्स क्लब अफ काठमाडौँ समृद्धिका अध्यक्ष अर्जुन लामिछानेले जानकारी दिए। उनले विपन्न तथा आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी राहत कार्यक्रम सञ्चालन गरिएको बताए।

कार्यक्रमअन्तर्गत तीनवटै वडामा समान रूपमा २०–२० घरधुरीका दरले जम्मा ६० परिवारलाई न्यानो कपडा तथा सिरक वितरण गरिएको छ। चिसो मौसममा पीडितहरूलाई केही भए पनि राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको क्लबका प्रथम अध्यक्ष सुशील खरेलले जानकारी दिए।

खरेलका अनुसार रौतहटमा मात्र नभई मकवानपुर जिल्ला प्रहरी कार्यालयमा रहेका करिब ४० जना कैदीबन्दीका लागि समेत न्यानो कपडा तथा सिरक उपलब्ध गराई प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीलाई हस्तान्तरण गरिएको छ।

लायन्स क्लब अफ काठमाडौँ समृद्धिका चार्टर प्रेसिडेन्ट तथा लायन्स डिस्ट्रिक ३२५ एचका पूर्व गभर्नर शम्भुबहादुर थापाले आर्थिक अवस्था कमजोर, सहाराविहीन तथा पीडितहरूको सेवामा क्लब सधैँ प्रतिबद्ध रहने बताए।

राहत वितरण कार्यक्रम अन्तर्गत वडा नम्बर ५ मा युवा समाजसेवी तथा नेपाली कांग्रेसका नेता बन्ती कुमार पाण्डेको नेतृत्वमा २० परिवारलाई राहत वितरण गरिएको थियो। त्यस्तै वडा नम्बर ७ मा नेपाली कांग्रेसका नेता तथा समाजसेवी देवराज अधिकारीको नेतृत्वमा र वडा नम्बर ८ मा युवा समाजसेवी सरोज बछारको नेतृत्वमा २०–२० परिवारलाई राहत वितरण गरिएको अध्यक्ष लामिछानेले जानकारी दिए।

अध्यक्ष लामिछानेका अनुसार राहत वितरण कार्यक्रम सफल बनाउन लायन्स डिस्ट्रिक ३२५ एचका (AID) चेयरपर्सन कल्याण विक्रम अधिकारी तथा युवा व्यवसायी निर्मल पण्डितको महत्वपूर्ण योगदान र सहयोग रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय