बारा प्रहरीले लागूऔषध अफिमसहित पर्सा जिल्लाका तीन जनालाई पकाउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साबाट खटेको संयुक्त प्रहरी टोलीले उक्त लागूऔषध अफिमसहित हिजो तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय निलेश पटेल कुर्मी, वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ बस्ने अन्दाजी ३२ वर्षीय जौवाद अहमद र पर्साकै बिन्दावासनी गाउँपालिका वडा नम्बर २ बस्ने ४८ वर्षीय शेषनाथ चौरसिया रहेको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख तथा प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिए।



बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर १ नकटुवास्थित पतञ्जली चोकमा बिआर ०१ सिएल ६०७९ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा कारको पछाडिको सिटमाथि कालो प्लष्टिकको पोकामा बेरेर राखिएको अवस्थामा २ किलो २४ ग्राम लागू औषध अफिम बरामद भएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख तथा प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार लागू औषध अफिमसहित पक्राउ परेका तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।







