गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् चीन र ग्वाङ्झाउस्थित नेपाली महावाणिज्य दूतावासको संयुक्त आयोजनामा चीनमा बसोबास तथा व्यवसाय गर्दै आएका नेपाली समुदायलाई लक्षित गर्दै कानूनी सचेतना सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
नेपाली समुदायलाई ज्ञान र कानूनी सचेतनाद्वारा सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम शुक्रबार दिउँसो ग्वाङ्झाउको ल्यान्डमार्क इन्टरनेशनल होटलमा सम्पन्न भएको हो।



कार्यक्रममा चीनमा रहेका नेपालीहरूले भोग्दै आएका अध्यागमन प्रक्रिया, कानूनी अधिकार, व्यवसायिक सम्झौता तथा दैनन्दिन जीवन र व्यवसाय सञ्चालनका क्रममा आउने व्यवहारिक चुनौतीहरूबारे सम्बन्धित निकायका प्रतिनिधि, कानुन व्यवसायी तथा अनुभवी व्यवसायीहरूले प्रत्यक्ष जानकारी दिएका थिए।
आयोजकका अनुसार यो कार्यक्रम यस किसिमको पहिलो पहल हो। यसले चीनमा रहेका नेपालीहरूलाई कानूनी जानकारीमार्फत सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा जीवनयापन तथा व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आयोजक संस्थाले चीनमा रहेका सम्पूर्ण नेपाली समुदायलाई यस्ता उपयोगी कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै लाभ लिन आग्रह गरेको छ।






