बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित ब्रह्मस्थानमा लागुऔषध गाँजासहित दुई जना व्यक्तिसहित उनीहरु सवार मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार राति करिब ८ः१५ बजेको समयमा रामनगरबाट डाटगाउँतर्फ ना ५४ प ६१८६ नम्बरको मोटरसाइकलमा लागुऔषध गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ तथा मातहतका निकायको संयुक्त टोलीले गाँजा ओसारपसार भईरहेको सुचनाका आधारमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा प्रहरीले प्लास्टिकका दुईवटा पोका भित्र लुकाइ राखिएको १० केजी लागुऔषध गाँजा फेला परेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख तथा प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहले जानकारी दिए।

प्रहरीले गाँजा, प्रयोग गरिएको मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–३ रामनगर निवासी जोगिन्द्र महतो कोइरीका छोरा ३३ वर्षीय राजकुमार कुश्वाहा र सोही स्थानका अशोक पटेलका छोरा २८ वर्षीय पुनदेव पटेल रहेका छन।

इलाका प्रहरी कार्यालय सिम्रौनगढका अनुसार पछिल्लो समय सिम्रौनगढ प्रहरीले सीमावर्ती क्षेत्रबाट ठुलो मात्रमा लागुऔषध, अवैध सामग्री तथा ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन सफल भएको छ। भने सीमावर्ती क्षेत्रमा लागुऔषध तथा अवैध सामग्रीको ओसारपसार बढ्दै गएकाले नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत गर्ने सवारी साधन तथा व्यक्तिमाथि कडाइका साथ चेकजाँच गरिएको छ। कुनै पनि शंकास्पद सवारी तथा गतिविधिमा विशेष निगरानी राखिँदै आएको प्रहरी निरीक्षक साहले बताए।

उनका अनुसार शान्ति–सुरक्षा कायम राख्न तथा अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सीमावर्ती क्षेत्रमा विशेष अपरेसन सञ्चालन भइरहेको छ। प्रहरीले घटनास्थलमै प्रारम्भिक अनुसन्धान तथा आवश्यक प्रमाण संकलन गरिसकेको जनाएको छ भने यस घटनासँग सम्बन्धित सम्भावित तस्कर समूहको खोजतलासलाई समेत तीव्र बनाइएको छ।

सीमावर्ती क्षेत्रमा बारम्बार तस्करीका घटना दोहोरिन थालेपछि गस्ती र निगरानी अझ कडा बनाइएको सिम्रौनगढ प्रहरीले जनाएको छ। लागुऔषध तथा अवैध कारोबारमुक्त सीमावर्ती क्षेत्र निर्माण गर्ने लक्ष्यसहित अन्य सम्भावित तस्करी मार्गहरूमा समेत आकस्मिक चेकजाँच निरन्तर जारी रहने प्रहरीले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय