काठमाडौँ– झापाको बुद्धशान्ति गाउँपालिकाका एक किसानले पालेको बाच्छी खोरेतविरुद्धको खोप लगाउनु अघिसम्म ठीक थियो। कोशी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमार्फत बुद्धशान्ति पुर्‍याइएको खोप उनको बाच्छीलाई पनि लगाइयो। खोप लगाएको ८ मिनेटमै बाच्छी मर्‍यो।

पशु सेवा विभागको ‘कोशी प्रदेशमा फिल्डस्तरमा खोरेत खोपको गुणस्तर निरीक्षणसम्बन्धी प्रतिवेदन’मा उक्त बाच्छी ८ मिनेटमै मरेको किटान गरिएको छ। खोरेत रोग नियन्त्रणका लागि अभियान सञ्चालन गर्न विभागले करिब दुई महिनाअघि सातै प्रदेशमा खोप पठाएको थियो। जसअन्तर्गत कोशी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयलाई २२ लाख ९० हजार २०० डोज खोप दिइएको थियो।

गत कात्तिक २३ गतेबाट कोशीमा शुरू अभियानमा खोप लगाएका कतिपय पशु केही मिनेटमै बिरामी पर्न र मर्न थाले। खोपले पशुमा नकारात्मक असर देखिएको भन्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र उदयपुरले कोशी प्रदेश निर्देशनालयलाई पहिलोपटक कात्तिक २७ गते रिपोर्ट गरेको थियो।

उदयपुरमा एक लाख २० हजार डोज खोप पठाइएको थियो। त्यहाँ खोप लगाइएका सात हजार ४८९ पशुमध्ये तीन वटा मरेका थिए भने, २५७ वटामा गम्भीर समस्या देखिएको केन्द्रले जनाएको छ।

कोशीका अन्य जिल्लामा पनि खोप लगाइएका पशुमा समस्या देखियो। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवका अनुसार, प्रदेशभर सात लाख ६१ हजार ३७१ पशुलाई खोरेतविरुद्धको खोप लगाइएको थियो। जसमध्ये २६ वटा मरेका थिए भने, १५ हजार ६३७ पशुमा नकारात्मक असर देखिएको थियो। “अझै धेरै जिल्लाबाट पूर्ण रिपोर्ट आउन बाँकी छ, खोपको साइड इफेक्ट र मृत्यु हुने पशुको संख्या थपिन सक्छ,” उनी भन्छन्।

खोप लगाइसकेपछि ठूलो संख्यामा नकारात्मक असर र मृत्यु देखिनु अन्तर्राष्ट्रिय खोप सुरक्षा मापदण्डअनुसार सामान्य मानिँदैन। प्रायः सुरक्षित मानिने खोपमा गम्भीर प्रभाव ०.०१ प्रतिशतभन्दा कम देखिन्छ। तर कोशीमा यो दर २ प्रतिशत पुगेको छ।

वैज्ञानिक अध्ययनले खोरेतको खोप दिएको ठाउँमा गाँठो पर्ने तथा ज्वरोजस्ता सामान्य र अल्पकालीन असर देखिने जनाएको छ। तर खोप लगाएका पशुमध्ये उक्त संख्यामा समस्या आउनु तथा मृत्यु हुनुलाई सामान्य मानिँदैन।

पशु सेवा विभागका एक कर्मचारीका अनुसार, कोशी प्रदेशमा मात्र नभएर विभागले खोप पठाएका अन्य स्थानका पशुमा पनि समस्या देखिएको छ। तर यकिन तथ्यांक आउन बाँकी छ।

निरीक्षण समितिले भन्यो– खोपको गुणस्तरमा खराबी
खोपको नकारात्मक असर धेरै देखिएपछि पशु सेवा विभागले मंसिर २ गते वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठ, पशु चिकित्सक राष्ट्रिय खोप उत्पादन प्रयोगशाला त्रिपुरेश्वका डा. रामचन्द्र आचार्य र पशु चिकित्सक भेटेनरी गुणस्तर  तथा औषधि नियमन प्रयोगशालाकी डा. रेनु यादवलाई फिल्डमा खटाएको थियो। उनीहरूले ‘कोशी प्रदेशमा फिल्डस्तरमा खोरेत खोपको गुणस्तर निरीक्षणसम्बन्धी प्रतिवेदन’ विभागमा बुझाएका थिए।

प्रतिवेदनमा कोशी प्रदेशमा खोप लगाएका कुनै ठाउँमा पाँचदेखि १० प्रतिशतसम्म र कुनै ठाउँमा १०० प्रतिशत नै नकारात्मक असर परेको उल्लेख छ। मोरङको मिक्लाजुङ गाउँपालिकामा सबैभन्दा थोरै (२–३ प्रतिशत) र सुनवर्सी तथा लेटाङ नगरपालिकामा १०० प्रतिशत पशुमा नकारात्मक असर देखिएको छ। रतुवामाईमा ५०, उर्लाबारीमा ३०, कानेपोखरीमा २५ प्रतिशतमा समस्या देखिएको उल्लेख छ।

अन्य स्थानीय तहमा १० प्रतिशत हाराहारीमा नकारात्मक असर देखिएको छ। प्रतिवेदनमा खोप भायल बिग्रिएको, सेतो रङबाट रातो रङमा खोप परिवर्तन भएको र थ्रिगिएको समेत पाइएको उल्लेख छ।

स्थलगत अध्ययन गरेर फर्किएको टोलीले भौतिक रूपमा खराब देखिएका सबै ब्याचका खोपको गुणस्तर परीक्षण गर्नुपर्ने लगायत १० बुँदे सुझाव दिएको छ। सोही प्रतिवेदनका आधारमा विभागले ‘फुटभ्याक्स’को ब्याच नं. सी२५भी२५००५ खोप पाँच लाख ८० हजार डोज तत्काल फिर्ता गर्न आपूर्तिकर्ताले पहल गर्ने र अन्य गुणस्तरीय ब्याचबाट खोप अभियान निरन्तरता दिने निर्णय गरेको छ। तर खोप किन गुणस्तरहीन भयो, त्यस्तो खोप कसरी आयो र अब के गर्ने भन्ने निर्णय गरिएको छैन।

विभागले उक्त ब्याच नम्बरको खोपमा बढी दुष्प्रभाव देखिएको निष्कर्ष निकाले पनि कोशी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले अन्य तीन ब्याचका खोप लगाएका पशुमा समेत ‘साइड इफेक्ट’ देखिएको जनाएको छ। विभागको स्थलगत टोली र निर्देशनालयले तयार गरेको रिपोर्ट मेल खाँदैन।

खोप खरिदमा चलखेलको आशंका
नेपालको कृषि प्रणालीको अभिन्न अंगका रूपमा रहेको पशुपालन क्षेत्रले राष्ट्रिय कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ६.२ प्रतिशत योगदान पुर्‍याएको छ। तर खोरेतजस्ता रोगहरू पशुपालन र पशुजन्य उत्पादनको बजारीकरण तथा निर्यातका लागि बाधक बनेका छन्।

पशु सेवा विभागको एक अध्ययनअनुसार, नेपालमा खोरेतका कारण प्रजनन क्षमता र भारवहन शक्तिमा ह्रास आउँछ। दूध र मासु उत्पादनमा आएको कमीले प्रतिवर्ष ६६ मिलियन अमेरिकी डलर बराबरको समग्र आर्थिक क्षति भइरहेको अनुमान छ। हालै गरिएको अर्को एक अध्ययनले खोरेतका कारण नेपालमा प्रतिवर्ष ६.४४ अर्ब रूपैयाँ बराबरको आर्थिक नोक्सानी हुने गरेको देखाएको छ।

यही कारण सरकारले अभियानमुखी खोप कार्यक्रम सञ्चालन गर्न प्रत्येक आर्थिक वर्ष नियमित बजेट विनियोजन गर्छ। खोरेत रोग उन्मूलनका लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यसका लागि खोप खरिद गर्न पशु सेवा विभागले २०८१ भदौ १४ गते प्राविधिक मापदण्ड बनाउने प्राविधिक समिति बनाएको थियो।

 

समिति संयोजकमा खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशालाका चिकित्सक डा. कृष्णराज पाण्डे थिए। सदस्यमा विभागका चिकित्सक डा. नवराज श्रेष्ठ र राष्ट्रिय खोप उत्पादन प्रयोगशाला त्रिपुरेश्वरका डा. रामचन्द्र आचार्य सदस्य थिए। अनौठो के भने, मापदण्ड समितिमा भएका डा. श्रेष्ठ र डा. आचार्य नै खोप लगाइएपछि देखा परेको उल्टो प्रभाव निरीक्षण गर्न गएका थिए।

डा. पाण्डे नेतृत्वको उक्त समितिको भदौ २३ गतेको बैठकले खरिद मापदण्ड तयार पारेको थियो। त्यही मापदण्डका आधारमा विभागले ९७ लाख ७८ हजार ९५० डोज खोप खरिद गर्न बोलपत्र आह्वान गर्‍यो। खोप खरिदको ठेक्का सुनगाभा भेट फर्माले हात पार्‍यो।

सुनगाभा भेटले खोप खरिद गर्न २९ करोड २८ लाख ८९ हजार ४९३ रूपैयाँको टेन्डर पारेको थियो। फर्माले भारतीय कम्पनी ‘ब्रिलियन्ट बायो फर्मा इन्डिया’बाट उत्पादित खोप ल्याएर विभागलाई बुझायो। कोशी प्रदेश निर्देशनालयले पनि सोही कम्पनीको पाँच लाख ८१ हजार ३९५ डोज खोप सुनगाभा भेटसँग छुट्टै खरिद गरेको थियो।

खोप खरिद गर्न बनाइएको प्राविधिक मापदण्ड हेर्दा खरिद प्रक्रियामा ‘चलखेल’को संकेत मिल्छ। उक्त मापदण्ड भारतीय कम्पनीका लागि मात्र अनुकूल हुने गरी बनाइएको छ। खोप बनाउन प्रयोग हुने ‘भाइरस आइसोलेट’ नै तोकेर मापदण्ड बनाइएको छ, जुन भारतका खोप उत्पादन कम्पनीले मात्र बनाउँछन्।

प्रतिलिपि अधिकारका कारण अन्य देशका कम्पनीले भाइरस आइसोलेट प्रयोग गर्दैनन्। यही प्राविधिक मापदण्डका कारण अन्य देशका कम्पनीको खोप प्रतिस्पर्धामै आउन मिलेन।

विभाग भन्छ– चलखेल भन्न मिल्दैन
खोप खरिद गरेर ल्याएपछि वितरण गर्नुअघि त्यसको गुणस्तर परीक्षण गर्नुपर्ने प्रावधान छ। नेपालमा ल्याइएका पशुका खोपको गुणस्तर परीक्षण बूढानीलकण्ठस्थित भेटेनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले गर्छ। तर प्रयोगशालासँग खोपको गुणस्तर परीक्षण गर्ने सम्पूर्ण प्रविधि छैन।

सोही कारण खोपको तौल र रङको मात्र परीक्षण गरियो। खोपको भित्री पदार्थको मात्रा, परिणाम र गुणस्तर भने परीक्षण गरिएन।

विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठका अनुसार, खोप उत्पादक कम्पनी र विश्व स्वास्थ्य संगठनले मान्यता दिएको तेस्रो पक्षको ल्याबले परीक्षण गरेको गुणस्तर प्रमाणको रिपोर्टका आधारमा खोप खरिद गरिएको थियो। यद्यपि, डा. श्रेष्ठले भनेअनुसार खोपको गुणस्तर परीक्षण गरेको तेस्रो पक्षको ल्याब रिपोर्ट उकालोले माग्दा अर्कै रिपोर्ट उपलब्ध गराइएको छ।

विभागले उपलब्ध गराएको रिपोर्ट पछिल्लो पटक नेपाल पठाएको खोपको ब्याचको नभएर पुरानो हो। त्यसमा खोप उत्पादन भएको मिति डिसेम्बर २०२३ र म्याद सकिने मिति नोभेम्बर २०२५ उल्लेख छ। नेपाल आएको र समस्या देखिएको खोपको उत्पादन मिति डिसेम्बर २०२५ देखि अप्रिल २०२५ सम्मको र म्याद सकिने मिति नोभेम्बर २०२६ देखि मार्च २०२७ सम्मका छन्।

अर्थात्, सुनगाभा भेटले विभागलाई पेस गरेको तेस्रो पक्षको ल्याब परीक्षण रिपोर्ट नै फरक छ। नेपालमा आएको खोपको गुणस्तर परीक्षण रिपोर्ट सुनगाभा भेटले विभागलाई बुझाएको छैन। यसले नेपालमा समस्या देखिएका खोप गुणस्तरहीन हुनसक्ने संकेत गर्छ।

 

खोप खरिदका लागि भारतीय कम्पनीलाई मात्रै मिल्ने गरी प्राविधिक मापदण्ड बनाएको विषयमा विभागका महानिर्देशक डा. रामनन्द तिवारी प्राविधिक समितिको निर्णयमा आफू नबोल्ने बताउँछन्। प्राविधिक मापदण्डका आधारमा मात्रै खोप खरिदमा ‘चलखेल’ भयो भन्न नमिल्ने उनको दाबी छ।

प्राविधिक समितिका संयोजक डा. पाण्डेले भने भारतीय कम्पनीलाई मिल्ने गरी मापदण्ड बनाइएको प्रश्नको जवाफ विभागसँग माग्न आग्रह गरे। प्राविधिक समितिमा आफू मात्र नभएको उनले जवाफ दिए। “स्पेसिफिकेसन बनाउने समूहको म संयोजक भए तापनि विभागसँगको छलफलमा टिमले बनाएको हो, यो विषयमा विभागलाई नै सोध्नुहोला,” पाण्डेले भने।

खोपको मापदण्ड बनाउने टोलीमा रहेका र दुष्प्रभाव अनुगमन पनि गर्न गएर दोहोरो भूमिका निभाएका पशु सेवा विभागका डा. नवराज श्रेष्ठ पनि यो प्रश्नको जवाफ दिनबाट पन्छिए। यसको जवाफ आफूले दिन नमिल्ने उनको भनाइ थियो। “खोपको दुष्प्रभाव परेको सत्य हो, तर त्यसको अध्ययन भइरहेको र विस्तृत रिपोर्ट नआइसकेकाले अहिले केही भन्न मिल्दैन,” डा. श्रेष्ठले भने।

खोप खरिद समितीका संयोजक डा. जितेन्द्र श्रेष्ठ खोरेतका प्रजाति सात प्रकारका हुने र नेपालमा फैलिएको खोरेत भारतीय प्रजातिको रहेको कारण भारतकै आइसोलेट चाहिने तर्क गर्छन्। भारतबाहेक अन्य देशका आइसोलेटबाट बनाइएको खोपले नेपालमा काम नगर्ने उनको दाबी छ। “इण्डियन प्रजातिको खोरेत फैलिएको हुँदा अन्य देशका खोप ल्याएर यहाँ काम नगर्ने भएकाले मापदण्डमा इण्डियन आइसोलेट तोकिएको हो,” उनी भन्छन्।

तर कुन खोपले काम गर्छ र कुनले गर्दैन भन्ने यकिनका लागि पहिला नै खोप ‘म्याचिङ’ गरिन्छ। दि परब्राइट इन्स्टिच्युटले गरेको अध्ययन अनुसार, नेपालमा देखिएको खोरेतको ‘स्ट्रेन’ अन्य आइसोलेटबाट बनेको खोपले पनि काम गर्ने देखिन्छ। तसर्थ, भारतकै आइसोलेटबाट बनेको खोप मात्र चाहिने देखिँदैन।

साभारः https://www.ukaalo.com/news/31226/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय