रौतहट। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शनिबार साँझ दुई जनालाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जनामाथि पहिलेदेखि नै बैंकिङ कसुरमा फरार अभियुक्तको रूपमा मुद्दा चलिरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चन्द्रपुर नगरपालिका– ४ गौर रोड नजिकै आफ्नो घर आसपासमा हिँडिरहेको अवस्थामा स्थानीय ३२ वर्षीय भोला साह कलुवारलाई चेकजाँचका क्रममा पक्राउ गरिएको हो। उनी बैंकिङ कसुरमा फरार प्रतिवादी सूचीमा परेपछि प्रहरीको निगरानीमा थिए।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख प्रहरी नायव उपरीक्षक रुपा लाबुङका अनुसार नियन्त्रणमा लिएर शरीर तथा सामाग्री चेकजाँच गर्दा साहले लगाएको पाइन्टको गोजीबाट १९० मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला परेको हो। बरामद गरिएको ब्राउन सुगरसहित उनलाई प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान सुरु गरिएको लाबुङले बताइन।

प्रहरीले प्रारम्भिक बयान लिएपछि साहले ब्राउन सुगर बिक्री वितरणमा संलग्न रहेको र सोही श्रृंखलामा चन्द्रपुर नगरपालिका– ६ बस्ने २८ वर्षीय राजेश राई समेत संलग्न भएको खुलाएपछि राईलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। राईलाई पक्राउ गरेपछि उनको मोबाइल, सम्पर्कमा रहेका व्यक्ति तथा सम्भावित वितरण सञ्जालबारे अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण कार्यान्वयन ऐनअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान तीव्र बनाइएको जनाएको छ। प्रहरीले अझै पनि उक्त क्षेत्र वरपर लागूऔषध कारोबारमा संलग्न अन्य व्यक्तिको खोजी तथा निगरानी गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय