कवि एलिसा ढुंगानाको कवितासंग्रह सौन्दर्यको भग्नावशेषलाई केन्द्रमा राखी साहित्य कला संस्कृति समाज निजगढले बिहीबार एक साहित्यिक विमर्श कार्यक्रम सम्पन्न गरेको छ। समाजका अध्यक्ष सुको साइबरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कवि तथा प्राज्ञ शशी लुमुम्बूले कृतिको गहिरो साहित्यिक विश्लेषण प्रस्तुत गर्दै एलिसाको लेखन समकालीन नेपाली कविताको महत्वपूर्ण योगदान भएको बताए।

लुमुम्बूका अनुसार एलिसाका कवितामा नारी संवेदना, प्रेम, समाज परिवर्तनको आकांक्षा र अस्तित्वगत पीडा अत्यन्त कलात्मक ढङ्गले प्रस्तुत हुन्छन। उनले भने,‘एलिसाका कविता सरल लागे पनि मौन–मौनमा गहिरो चोट र विरोध बोकेर हिँड्छन, त्यसैले ती आजको समाजसँग प्रतिध्वनित भएको जस्तो महसुस हुन्छ।’

कार्यक्रमका सभाध्यक्ष सुको साइबरले कृतिले नेपाली कवितामा नयाँ प्रकारको विद्रोही चेत थपिदिएको बताए। उनले एलिसाको काव्यधारामा नारी जीवनका संघर्ष, शोषणविरुद्धको आवाज, आत्मसम्मान र मुक्तिको आकांक्षा अत्यन्त प्रखर रूपमा अभिव्यक्त भएको उल्लेख गरे। साइबरले भने,‘एलिसाका कविता केवल भावनात्मक अभिव्यक्ति मात्र होइनन्, उनीहरू समाजको कठोर संरचनामाथि उठाइएको कलात्मक प्रतिवाद हुन। पुस्तकले नेपाली कवितामा देखिएको परम्परागत प्रवाहभन्दा अलग, निर्भीक र परिवर्तनमुखी स्वर स्थापित गरेको छ।’

विमर्शका क्रममा कवि तथा नेपाली लेखक संघ बारा शाखाका अध्यक्ष सुशान्त न्यौपानेले संग्रहबाट एक कविता वाचन गर्दै एलिसाको लेखनले स्थानीय साहित्यिक क्षेत्रमा नयाँ ऊर्जा थपेको बताए। कवि प्रकाश सुवेदी ‘बलु’ले कृतिमा समेटिएका भावदशा, अनुभूति र प्रतीकप्रयोगबारे टिप्पणी गर्दै संग्रहकै कविता प्रस्तुत गरे।

कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै कवि एलिसाले लेखन–यात्रा, प्रेरणा र सिर्जनात्मक भोगाइ साझा गर्दै निजगढमा यस्तो अर्थपूर्ण विमर्श आयोजना गरेकोमा आयोजकप्रति आभार व्यक्त गरिन। स्थानीय साहित्यकार, सिर्जनाकर्मी र युवाहरूको उल्लेख्य सहभागितासहित सम्पन्न कार्यक्रमले सौन्दर्यको भग्नावशेषले उठाएका दृष्टि, प्रश्न र अर्थपूर्ण बहस र संवाद स्थापित गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय