इलाका प्रहरी कायार्लय सिम्रौनगढले सोमबार बिहान ठूलो परिमाणको लागुऔषध गाँजा बरामद गर्न सफल भएको छ।
सोमबार बिहान करिब ४ः३० बजे प्रहरी टोली नियमित निगरानीमा रहेको बेला कोतवालीबाट रामनगरतर्फ जाँदै गरेको प्रदेश नम्बर ०२–०३ ००६प ३६१४ नम्बरको मोटरसाइकल प्रति शंका लागेको थियो। शंकास्पद गतिविधि देखिएपछि प्रहरी टोलीले मोटरसाइकललाई पछ्याउन थालेको बताइएको छ।



प्रहरी नजिकिँदै गर्दा मोटरसाइकल चालकले आफू पक्राउ पर्न सक्छ भन्ने अनुमान गरी मोटरसाइकल फालेर अन्धकारको फायदा उठाउँदै घटना स्थलबाट फरार भएको सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्ण देव प्रसाद साहले जानकारी दिए। चालक फरार भएपछि प्रहरीले मोटरसाइकल भएको स्थानलाई घेराबन्दी गर्दै चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा मोटरसाइकलको पछाडितर्फ राखिएको ठूलो बोरा भित्र रातो प्लास्टिकले कसेर बेरिएको अवस्थामा ५४ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा अत्यधिक परिमाणमा रहेको र यसले संगठित तस्करी समूहको संलग्नता हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
बरामद गाँजा तथा मोटरसाइकल दुवैलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखिएको छ।
यता फरार चालकको पहिचान तथा सम्भावित संलग्नता पत्ता लगाउन प्रहरी टोलीलाई विभिन्न स्थानमा परिचालन गरिएको निरीक्षक साहले जानकारी दिएका छन। उनले भने,‘हामीले शान्ति सुरक्षा कायम गर्न विशेष अपरेशन तीव्र पारेका छौँ। अवैध कार्यमा संलग्न कोही पनि बच्न सक्दैनन्। फरार व्यक्तिलाई छिट्टै समातिनेछ।’
सिम्रौनगढ र पचरौता नगरपालिका क्षेत्रलाई लागुऔषध तथा अबैध कारोबारमुक्त क्षेत्र बनाउने लक्ष्यसहित प्रहरीले निगरानी थप कडा बनाएको र अन्य सम्भावित तस्करी मार्गहरूमा पनि आकस्मिक चेकजाँच जारी राखिने बताइएको छ।
इलाका प्रहरी कायार्लय सिम्रौनगढमा नयाँ प्रमुखका रुपमा आएका प्रहरी निरीक्षक कृष्ण देव प्रसाद साहको नेतृत्वमा पछिल्ला दिनमा शान्ति–सुरक्षालाई प्राथमिकतामा राख्दै अबैध गतिविधि नियन्त्रणका उद्देश्यले अपरेशन सञ्चालन भइरहेको छ।






