बारामा प्रहरीले शनिबार दिउँसो विशेष सूचनाका आधारमा सञ्चालन गरिएको संयुक्त अपरेसनमार्फत दुई महिलालाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। लागुऔषध कारोबार रोकथामका लागि सिमरा क्षेत्रमा प्रहरी निरन्तर सक्रिय रहेकै बेला गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

शनिबार दिउँसो करिब ३ः४० बजे, जीतपुरसिमरा उपमहानगरपालिका-५ स्थित लल्का पुल नजिक पैदल यात्रा गरिरहेका दुई महिलालाई शंकास्पद गतिविधिका आधारमा प्रहरीले रोकि चेकजाँच गर्दा उनीहरूको साथबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। वीरगन्जबाट पथलैया तर्फ जाँदै गरेका उनीहरूको झोलाबाट ठूलो परिमाणको खैरो धुलो पदार्थ बरामद गरिएको हो।

चेकजाँचका क्रममा पर्सा जिल्लाको पटेर्वा सुगौली गाँउपालिका-६ निवासी प्रभु मुखियाकी ३५ वर्षीया पत्नी सुसिला देवीको साथबाट ब्राउन सुगर जस्तो देखिने ७ पुरिया बरामद गरिएको थियो। ती पुरियामा कूल ४४.४०० ग्राम (चवालिस ग्राम चार सय मिलिग्राम) लागुऔषध रहेको प्रहरीको प्रारम्भिक परीक्षणबाट पुष्टि भएको छ।

सुसिला देवीसँगै रहेकी पोखरिया नगरपालिका-७ की ३० वर्षीया पुजा देवीलाई पनि प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ। दुवै जनाले लागुऔषधसँगको सम्बन्धबारे सोधपुछका बेला स्पष्ट जवाफ नदिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरो पर्साको संयुक्त टोली खटिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार केही दिनदेखि वीरगन्ज–पथलैया मार्ग हुँदै लागुऔषध सर्ने गतिविधिको सूचना प्राप्त भएकाले प्रहरीले क्षेत्रीय निगरानी कडा पारेको थियो।

लल्का पुल आसपासको क्षेत्र पछिल्ला महिनाहरूमा लागुऔषध ओसारपसारका लागि संवेदनशील मानिँदै आएको र त्यहाँ प्रहरीले नियमित गस्ती तथा निगरानी बढाएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक जोशीले बताए।

दुवै महिलालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद पदार्थको प्राविधिक परीक्षण, स्रोत, संलग्नता र सम्भावित तस्करी नेटवर्कबारे प्रहरीले अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय