धनुषामा बिदामा घर आएका प्रहरीका एकजना सहायक हवल्दारले शुक्रबार वडाध्यक्षलाई गोली हानी हत्या गरेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका– ९ का वडाध्यक्ष विन्देश्वर यादवको हत्या आरोपमा सहायक प्रहरी हवल्दार शम्भु यादवलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको पक्की प्रहरीचौकीमा कार्यरत उनी घरबिदामा मिथिला बिहारी आएका थिए ।
प्रहरीका अनुसार मिथिला बिहारी नगरपालिका– ९ अन्दुपट्टीमा मृत्यु संस्कारको भोजमा सहभागी भएका वेला भएको विवादमा शम्भुले कटुवा पेस्तोल निकालेर वडाध्यक्ष यादवको छातीमा गोली हानेका थिए ।



गोली प्रहारबाट गम्भीर घाइते वडाध्यक्ष यादवलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुगम कुँवरले बताए ।
उनका अनुसार प्रहरी हवल्दारसमेत रहेका स्थानीय शम्भु चार–पाँचजनाको समूह लिएर अन्दुपट्टी पुगेका थिए । वडाध्यक्ष यादवलाई जोगाउन खोज्दा चारजना घाइतेसमेत भएको कुँवरले बताए । वडाध्यक्ष यादव स्वतन्त्रबाट निर्वाचित हुन् । उनीहरूबिच जमिनको पुरानो विवाद रहेको बताइएको छ ।






