नेकपा एमालेमा पुनः फर्किएका पूर्वमन्त्री तथा बारा क्षेत्र नं. ४ का निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान) बिहीबार आफ्नो गृह जिल्ला बारामा उत्साहपूर्वक प्रवेश गरेका छन। लामो समयपछि पार्टीमा फर्किएका नेता श्रेष्ठको आगमनले बाराको राजनीतिक वातावरणमा नयाँ उर्जा र सक्रियता देखिएको छ।
श्रेष्ठको स्वागतमा एमाले जीतपुरसिमरा नगर कमिटी र राष्ट्रिय युवा संघ नेपालका नेता तथा कार्यकर्ताहरूले मोटरसाइकल र्यालीसहित भव्य कार्यक्रम आयोजना गरेका थिए। र्याली बारा र मकवानपुरको सीमामा रहेको चुरियामाई मन्दिरदेखि सुरु भएर जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहस्थित किसान श्रेष्ठको निवाससम्म पुगेको थियो। स्थानीय युवाहरूले हातमा पार्टीका झण्डा बोकेर नाराबाजी गर्दै स्वागत गरेका थिए।



चुरियामाई मन्दिरमा दर्शन गरेर आफ्नो निर्वाचन क्षेत्रमा प्रवेश गरेपछि नेता श्रेष्ठले एमालेमा फर्कनुको कारण र आगामी योजनाबारे स्पष्ट सन्देश दिए। उनले भने,‘मधेशका जनताको सेवा गर्ने, एमालेलाई पुनः जनताको पार्टीका रूपमा उभ्याउने र मधेशलाई एमालेको लालकिल्ला बनाउने लक्ष्यसहित म फर्किएको छु।’
श्रेष्ठका अनुसार अहिले एमाले केही अफ्ठेरो अवस्थामा भए पनि यही बेला पार्टीका सच्चा कार्यकर्ताले सतिसालझैं बलियो भएर उभिनुपर्ने समय आएको छ। उनले पार्टी छोडेका कार्यकर्ताहरूलाई पनि घर फर्कन आग्रह गर्दै भने,‘एमाले नै सबैको साझा घर हो, जसले देश र जनताको सेवा गर्छ।’
जेनजी आन्दोलनको प्रसङ्ग उठाउँदै श्रेष्ठले त्यस अवधिमा आफ्नो घर र सवारीसाधनमा भएको आगजनीबारे गुनासो व्यक्त गरे। उनका अनुसार त्यो घटना कुनै आन्दोलनको परिणाम नभई योजनाबद्ध षड्यन्त्र थियो।
‘जेनजी आन्दोलनले आन्दोलन फिर्ता लिइसकेको थियो, तर केही स्वार्थी समूहले मेरो घरमा नियोजित रूपमा आगजनी र्गयो,’ श्रेष्ठले भने, ‘त्यस्ता व्यक्तिहरूलाई म माफ गर्दिन, कानूनी कारबाहीका लागि म लाग्नेछु।’
जलेर नष्ट भएको घरमा पुनः प्रवेश गर्दा श्रेष्ठ भावुक बने। उनले भने,‘अब व्यक्ति वा सार्वजनिक सम्पत्ति जलाउने राजनीति एमालेले हुन दिने छैन। एमालेले हरेक नागरिकको घर, सम्पत्ति र सम्मानको सुरक्षा गर्नेछ।’
श्रेष्ठले अझ जोड दिँदै भने,‘एमाले अन्याय गर्दैन, तर अन्याय पनि सहँदैन। जसले पनि एमालेलाई कमजोर ठान्छ, त्यो गलत हुनेछ। राष्ट्रिय युवा संघ पनि अब चुप लाग्दैन।’ उनले पार्टीका नेता–कार्यकर्तामाथि गलत दृष्टि र व्यवहार नगर्न चेतावनी दिँदै भने,‘एमालेका कार्यकर्तालाई डराउने र धम्क्याउने समय अब सकिएको छ। न्यायका लागि हामी सडकदेखि सदनसम्म लड्छौं।’
श्रेष्ठको पुनरागमनसँगै बारा जिल्लामा एमाले कार्यकर्ताहरूमा नयाँ जोश देखिएको छ। पार्टी नेतृत्वले पनि उनलाई पुनः सक्रिय भूमिकामा ल्याउन उत्साहित देखिएको छ। स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार श्रेष्ठको फर्किएपछि बारा–मकवानपुर क्षेत्रमा एमाले संगठन थप सुदृढ हुने संकेत देखिएको छ।
एमालेका कार्यकर्ताहरूले उनलाई फिर्ता आएको सिंह भन्दै स्वागत गरेका थिए। उपस्थित कार्यकर्ताहरूले किसान श्रेष्ठको नेतृत्वमा बारा जिल्लामा एमाले फेरि बलियो रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन।
यसरी लामो अन्तरालपछि एमालेमा फर्किएका पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले आफ्नो राजनीतिक पुनरागमनलाई मधेशको एकता, जनसेवा र संगठन सुदृढीकरणको अभियानका रूपमा प्रारम्भ गरेका छन।






