मधेश प्रदेशमा पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको सरकार गठन भएको छ। मधेशमा लामो समयदेखि नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ताको साझेदारी हुँदै आएकोमा यसपटक एमालेले प्रमुख दलको रूपमा आफ्नो दाबी प्रस्तुत गर्न सफल भएको हो।
संविधानको धारा १६८ (३) बमोजिम एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई सोमबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन। मुख्यमन्त्री यादवले पदग्रहण लगत्तै मन्त्रिपरिषद् विस्तार गर्दै आफ्नो कार्यकालको प्रारम्भिक सन्देशसमेत दिएका छन।



नवगठित मन्त्रिपरिषद्मा एमालेका लखन दास, संघीय समाजवादी पार्टीकी बिमला अन्सारी, र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की कन्चन बिच्छा मन्त्री बनेका छन। मधेश प्रदेशमा संघीय समाजवादी र राप्रपाका एक–एक जना सांसद रहेका छन। यी दलहरूको समर्थनका कारण एमालेले बहुमत सुनिश्चित गर्दै सरकार गठन गर्न सफल भएको बताईएको छ।
मुख्यमन्त्री यादवले सरकारको पहिलो प्राथमिकता सुशासन, विकास, र जनताको सीधा सरोकारका विषयमा हुने बताउँदै प्रदेश सरकारलाई स्थायित्व दिने प्रतिबद्धता जनाएका छन। उनले विगतमा मधेश प्रदेशमा राजनीतिक अस्थिरता र सत्ता–साझेदारीका कारण जनताको अपेक्षा पूरा गर्न कठिनाइ भएको भन्दै एमालेको नेतृत्वमा नयाँ ढंगले काम गर्ने आश्वासन दिएका छन।
२०७४ सालको प्रदेशसभा चुनावमा एमाले २१ सिटसहित मधेश प्रदेशमा तेस्रो ठूलो दल बनेको थियो। त्यसबेलाको चुनावी परिणामलाई एमालेले ‘मधेशमा सुरुवाती सफलता’को रूपमा मूल्यांकन गरेको थियो। यद्यपि, एमालेले प्रतिकुल समय भनेको २०७९ सालको प्रदेशसभा चुनावमा एमालेले २३ सिट जित्दै पहिलो दलको रूपमा मधेशमा उदायो। यो परिणामले मधेशमा एमालेप्रतिको जनसमर्थन क्रमशः बढ्दो रहेको संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
राजनीतिक समीक्षाका दृष्टिले हेर्दा, मधेश प्रदेशमा पहिलो पटक एमालेको सरकार बन्नु मधेशको राजनीतिक समीकरणमा ठूलो परिवर्तनको सूचक हो। विगतमा मधेश–केन्द्रित दलहरूले एकछत्र शासन गर्दै आएका यस प्रदेशमा राष्ट्रिय दलले पहिलो पटक नेतृत्व ग्रहण गर्नु एमालेका लागि मात्र नभई संघीय लोकतान्त्रिक प्रणालीका लागि पनि महत्वपूर्ण मानिएको छ।
मुख्यमन्त्री यादवको नेतृत्वमा गठन भएको यो सरकारले मधेशको विकास, सुशासन, र राष्ट्रिय एकताको सन्देश दिन सफल हुनेछ कि छैन भन्ने कुरा अबको समयले बताउनेछ। तर अहिलेको परिस्थितिले भने मधेशमा एमालेको सरकार गठन ऐतिहासिक र नयाँ राजनीतिक अध्यायको सुरुवातको रूपमा हेरिएको छ।







