नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगै फरार भएका बूढानीलकण्ठ हत्या प्रकरणका मुख्य योजनाकार बाबु लामा भनिने हिरालाल मोक्तानलाई बारा प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार मोक्तानलाई गएराति करिब ८ बजे निजगढ नगरपालिका–३ सिगौल स्थित पिपलटार क्षेत्रबाट पक्राउ गरिएको हो। लामो समयदेखि फरार मोक्तान हालै मात्र निजगढ फर्किएको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएर उनलाई नियन्त्रणमा लिएको हो।



जेनजी आन्दोलनका क्रममा घुसपैठ गराई नख्खु कारागारबाट जेल तोडेर फरार भएका मोक्तान निजगढ क्षेत्रमा आएर स्थानीयलाई धम्की र दबाब देखाई पैसा असुली गर्दै आएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ।
प्रहरीले मोक्तानको गतिविधिबारे केही दिनदेखि निगरानी गरिरहेको र स्थानीयको सहयोगमा उनलाई पक्राउ गर्न सफल भएको जनाएको छ।
मोक्तान काठमाण्डौंको बूढानीलकण्ठमा भएको एक हत्या प्रकरणका मुख्य योजनाकार हुन। सो प्रकरणमा निजगढ नगरपालिका–७ का ३२ वर्षीय कृष्णकुमार लामाको हत्या गरिएको थियो। अनुसन्धानका क्रममा मोक्तानले कृष्णलाई आफ्नी भान्जीको जन्मदिन मनाउने बहानामा गत असार ६ गते बोलाई बूढानीलकण्ठ नगरपालिका–५ टुसालमा हत्या गरेको खुल्न आएको थियो।
कृष्णकुमारको हत्या प्रकरणमा मोक्तानसहित दुई जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो।
यसअघि पनि मोक्तान जघन्य आपराधिक घटनामा संलग्न व्यक्ति रहेको प्रहरीले जनाएको छ। उनले २४ भदौ २०६८ मा रौतहटको हिमालीवासका टेकनाथ पौडेललाई अपहरण गरी १० लाख रुपैयाँ फिरौती उठाएका थिए। सो प्रकरणमा सर्वाेच्च अदालतले उनलाई १२ वर्ष कैद सजाय तोकेको थियो।
बारा, रौतहट र अन्य तराईका जिल्लामा चोरी, लुटपाट र गुण्डागर्दीमा संलग्न बाबु लामा हिरालाल बाबु, चोरबाबु र कालेबाबु जस्ता उपनामले पनि चिनिने गरेको प्रहरीले जनाएको छ।
बारा प्रहरीका अनुसार उनलाई अब थप अनुसन्धानका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ।






