बाराको पचरौता नगरपालिका–४ गुलरिया नजिक नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा बसोबास गर्दै आएका नेपाली नागरिक वाल्मीकिप्रसाद यादवले आफ्नो पुरानो जमिन भारतका केही व्यक्तिहरूले हडप्ने प्रयास गरिरहेको आरोप लगाएका छन।

वाल्मीकिका अनुसार तीन पुस्तादेखि जोतभोग गर्दै आएको उक्त जमिनमा भारतको ग्राम जोलगाव निवासी ललितेश्वर यादव, ग्राम बडेला निवासी हरिशंकर यादव, मङ्नी राय यादव, चन्दन कुमार, रामप्रवेश यादव र शम्भु यादवलगायतले कब्जा गर्न खोजिरहेका छन। उनले भने,‘करिब दुई वर्षदेखि यी समूहले मेरो जमिनमा बलजफ्ती प्रवेश गरी कब्जा गर्ने प्रयास गर्दै आएका छन। हामीले विरोध गर्दा उनीहरूले ज्यान मार्ने धम्की समेत दिएका छन।’

पीडित यादवले आफ्नो पक्षमा पुरानो जोतभोग प्रमाण रहेको उल्लेख गर्दै भने,‘हामीसँग जग्गाको पुरानो प्रमाणपत्र छ। नेपाल र भारत दुवै पक्षका सम्बन्धित प्रशासनले पनि हाम्रो पक्षमा स्वीकृति दिएको छ। त्यस बाबजुद पनि समय–समयमा भारतीय भूमाफियाले कब्जा गर्ने प्रयास जारी राखेका छन।’

वाल्मीकिका अनुसार, भारतीय समूहले कहिलेकाहीँ स्थानीयलाई डराइधम्क्याउने, झुठा दाबी गर्ने र जबर्जस्ती जमिनमा प्रवेश गर्ने प्रयास गर्दै आएका छन। यसले उनीहरू र उनका परिवारलाई दैनिक जीवनमा मानसिक तनाव र असुरक्षा सिर्जना गरेको छ।

यादव परिवारले आफ्नो जिउधन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न पचरौता नगरपालिका–४ स्थित बेल्दारी प्रहरी चौकी र सशस्त्र प्रहरी चौकीमा पटक–पटक लिखित जानकारी दिएका छन। तर अहिलेसम्म कुनै ठोस कारबाही नभएको र केवल आश्वासन मात्रै प्राप्त भएको पीडितको गुनासो छ।

वाल्मीकिका बुवा राजदेव यादवले भने,‘हामी हाम्रो पुर्खाैली सम्पत्ति खोसिन नदिनेछौं। नेपालका सरोकारवाल निकायसँग पहल गरेर न्याय पाउन चाहन्छौं। प्रशासनले समयमै कारबाही नगर्दा पीडितको अवस्था असुरक्षित हुँदै गएको छ।’

स्थानीय प्रशासन र सुरक्षाकर्मीले यस विषयलाई गम्भीरतासाथ अध्ययन गर्ने र आवश्यक कदम चाल्ने आश्वासन दिएका भएपनि तत्कालै ठोस कारबाही नभएकाले पीडित परिवार अझै डर र असुरक्षाको सामना गरिरहेको छ।

विशेषगरी सीमा नजिकको भौगोलिक अवस्था, दुई देशबीचको सीमागत विवाद, र प्रशासनिक जवाफदेहिता नहुँदा पीडित पक्षको चिन्ता अझ बढेको छ। यस घटनाले स्थानीय समुदायमा समेत तनावको अवस्था सिर्जना गरेको र पीडित परिवारको सुरक्षा तथा अधिकार सुनिश्चित गर्न तत्काल पहल आवश्यक रहेको विश्लेषकहरूले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय