बाराको निजगढ नगरपालिका–३ मा अवस्थित ऐतिहासिक टासिधार्गेलिङ बौद्ध गुम्बामा यस वर्ष आयोजना हुन लागेको ४१औँ गुम्बा मेला भव्य र ऐतिहासिक हुने अपेक्षा गरिएको छ। तामाङ समुदायको सांस्कृतिक, धार्मिक र सामाजिक पहिचानसँग गहिरो रूपमा जोडिएको यो मेला हरेक वर्ष कार्तिक पूर्णिमाको अवसरमा मनाइँदै आएको छ।

गुम्बा मेला कार्तिक १६ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ। मेलाको औपचारिक उद्घाटन निजगढ नगरपालिकाका प्रमुख मेयर सुरथ पुरीको प्रमुख आतिथ्यमा हुने गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सुकराम जिम्बा (ज्ञानु) ले जानकारी दिए। उनका अनुसार यसपटकको मेला स्थानीय सहभागिता, मनोरञ्जन र धार्मिक श्रद्धा तीनै दृष्टिले विशेष हुने अपेक्षा गरिएको छ।

मेलालाई आकर्षक र मनोरञ्जनपूर्ण बनाउन समितिले यसपटक चर्चित राष्ट्रिय कलाकारहरूको प्रस्तुति समावेश गरेको छ। आयोजकका अनुसार दीपक बज्राचार्य एण्ड द रिदम ब्यान्ड, पछिल्लो पुस्ताका लोकप्रिय गायक कुमा सागर, चर्चित र्यापर मिस्टर डी (सन्दीप विष्ट) र लाहुरे (आशिष राणा) लगायतका कलाकारहरू पहिलो पटक निजगढ आउने भएका छन। ती कलाकारहरूको प्रस्तुतिले मेलामा विशेष रौनक थप्ने विश्वास समितिका अध्यक्ष ज्ञानुले व्यक्त गरे। उनका अनुसार मेलाको मुख्य आकर्षणका रूपमा हरेक रात फरक–फरक सांगीतिक प्रस्तुति हुनेछ, जसमा राष्ट्रियस्तरका कलाकारसँगै स्थानीय प्रतिभाहरूको पनि प्रस्तुति रहनेछ।

मेला व्यवस्थापन समितिका अध्यक्ष सन्जिव योञ्जनले भने,‘हामीले यसपटक नयाँ अनुहारका स्थानीय कलाकारलाई समेत अवसर दिएका छौं। यो मेला केवल मनोरञ्जन होइन, स्थानीय कलाकारहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च पनि हो।’

मेलामा केवल संगीत मात्र होइन, हरेक उमेर समूहका मानिसका लागि मनोरञ्जनका विभिन्न गतिविधिहरू पनि रहनेछन। समितिका सचिव युवराज वल तामाङका अनुसार मेलास्थलमा अहिले रोटिपिङ, मौत का कुंआ, जम्पिङ, कोलम्बस सवारी लगायतका मनोरञ्जन सामग्री धमाधम सेटअप भइरहेको छ। यसका अतिरिक्त, बालबालिका लक्षित खेल सामग्री, स्थानीय परिकारका स्टलहरू, फोटो स्पटहरू र परम्परागत झाँकी प्रदर्शनहरू पनि हुनेछन।

व्यापारिक हिसाबले पनि मेला महत्वपूर्ण मानिन्छ। यसपटक मेलामा व्यवसायी तथा स्थानीय होटल सञ्चालकहरूका लागि स्टल वितरण कार्तिक १६ गते बिहानदेखि गरिनेछ। इच्छुकहरूलाई समितिसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

मेलाको अवधिभर शान्ति सुरक्षाको व्यवस्था कडाइका साथ गर्ने तयारी भइरहेको समितिले जनाएको छ। यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सुरक्षा समितिहरूसँग समन्वय गरी सुरक्षात्मक योजना तयार पारिएको छ। सुरक्षा व्यवस्थापनका साथै सफा सरसफाइ, ट्राफिक व्यवस्थापन, स्वास्थ्य सेवा र आपतकालीन उद्धार टोली पनि सक्रिय रहने मेला व्यवस्थापन समितिको योजना छ।

टासिधार्गेलिङ गुम्बा मेला तामाङ समुदायका लागि मात्र होइन, सम्पूर्ण क्षेत्रकै धार्मिक मिलनबिन्दु बनेको छ। तामाङ समुदायमा कार्तिक पूर्णिमा र चैत्र पूर्णिमाको अवसरमा दिवंगत पितृहरूको सम्झनामा गुम्बा र चैत्यमा दीपप्रज्वलन र पूजापाठ गर्ने परम्परा रहिआएको छ। सोही परम्परालाई निरन्तरता दिँदै यसवर्ष पनि पितृको सम्झनामा दीपप्रज्वलन कार्यक्रम गुम्बा प्राङ्गणमै आयोजना गरिनेछ।

यस अवसरमा बारासँगै छिमेकी जिल्ला मकवानपुर, रौतहट, पर्सा र सिन्धुली लगायतका स्थानबाट भक्तजन र मेलाप्रेमीहरूको ठूलो घुँइचो लाग्ने अपेक्षा गरिएको छ। समितिका अध्यक्ष ज्ञानुका अनुसार यो मेला धार्मिक श्रद्धा, सांस्कृतिक पहिचान र भाईचाराको प्रतीक बनेको छ, जसले निजगढ नगरको पर्यटन र सांस्कृतिक महत्वलाई अझ उजागर गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय