कपिलवस्तु प्रहरीले अवैध रूपमा ढुवानी तथा भारत निकासीको तयारीमा राखिएको ठूलो परिमाणको कवाडी सामग्री र किवी फल बरामद गरेको छ। प्रहरीका अनुसार विल बिजक विना ढुवानी भइरहेको ट्रक र वेवारिसे अवस्थामा भेटिएको फलफूल नियन्त्रणमा लिएर दुबै घटनामा संलग्नमाथि थप अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहका अनुसार मायादेवी गाउँपालिका–४ गौराबाट ना २ ख ९५५२ नम्बरको ट्रक रोकी जाँच गर्दा ५ हजार ७३० केजी पुरानो प्लास्टिकका टुक्रा कवाडी बिलबिजक विना अवैध रूपमा ढुवानी गरिएको अवस्थामा भेटिएको थियो। बरामद कवाडीको मूल्य करिब रु ३ लाख १५ हजार १५० रहेको प्रहरीले जनाएको छ।



डीएसपी सिंहले भने,‘भन्सार नियम उल्लङ्घन गर्दै अवैध रूपमा सामग्री ढुवानी गर्नेविरुद्ध प्रहरीले कडा रूपमा कारबाही अघि बढाएको छ। आर्थिक अनियमितता र तस्करी नियन्त्रणमा प्रहरीले शून्य सहनशीलताको नीति अपनाएको छ।’
प्रहरीले उक्त ट्रकका चालक ४१ वर्षीय सुग्रिम केवटलाई नियन्त्रणमा लिएर ट्रकसहित बरामद सामग्री राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको जनाएको छ।
त्यसैगरी कपिलवस्तु प्रहरीले कृष्णनगर नगरपालिका–२ यात्रु गेट नजिकैबाट भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको ७४१ केजी किवी फल समेत बरामद गरेको छ। बरामद किवीको अनुमानित मूल्य रु १ लाख ८५ हजार २५० रहेको र यसलाई कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
डीएसपी सिंहका अनुसार कपिलवस्तु भित्रका साथै सीमाक्षेत्रमा हुने अवैध आयात निर्यात, कर छली र तस्करी गतिविधिमा संलग्नमाथि निगरानी थप कडा बनाइएको छ। उनले भने,‘सीमाक्षेत्र संवेदनशील भएकाले प्रहरी चौकी र गस्ती टोलीलाई अझ सशक्त बनाइएको छ।’






