काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले किसानलाई लक्षित गरी सामाजिक सञ्जालमा प्रयोग गरेको अभिव्यक्तिप्रति अखिल नेपाल किसान महासंघले कडा आपत्ति जनाएको छ ।
मेयर बालेनले केही सोमबार आफ्नो फेसबुक स्टाटसमा किसानझैँ फोहर भन्ने वाक्यांश प्रयोग गरेपछि त्यसको व्यापक आलोचना हुन थालेको छ । उक्त अभिव्यक्तिलाई किसान समुदायमाथिको अपमानको रूपमा लिँदै महासंघले तत्काल स्टाटस हटाई सार्वजनिक रुपमा माफी माग्न माग गरेको छ ।



महासंघका अध्यक्ष डा. प्रेम दंगालले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ कि मुलुकको प्रमुख उत्पादन शक्ति र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेका किसान समुदायलाई अपमानजनक शब्द प्रयोग गरेर होच्याउने कार्य अत्यन्तै निन्दनीय छ । यस्तो अभिव्यक्ति किसान मात्र होइन, सम्पूर्ण श्रमजीवी वर्गमाथि प्रहार हो ।
महासंघले बालेन साहजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस्तो गैरजिम्मेवार र विभाजनकारी टिप्पणी आउनु दुःखद भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ कि राज्यका सबै संरचनाहरूले किसानप्रति सम्मान र समर्थनको भावना राख्नुपर्ने बेला महानगर प्रमुखकै तर्फबाट अपमानजनक अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण छ ।
महासंघले मेयर साहले आफ्नो उक्त स्टाटस हटाएर सार्वजनिक रूपमा माफी नमागे किसान समुदाय सडक आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
उनले भनेका छन हामी किसानका सम्मान र अधिकारका विषयमा कुनै सम्झौता गर्ने पक्षमा छैनौँ । यदि तिनका भावनामा चोट र्पुयाउने अभिव्यक्ति फिर्ता लिएर माफी मागिएन भने अखिल नेपाल किसान महासंघले चरणबद्ध विरोधका कार्यक्रम घोषणा गर्नेछ ।
यसैबीच, सामाजिक सञ्जालमा पनि मेयरको उक्त स्टाटसलाई लिएर व्यापक विवाद चुलिएको छ । धेरै प्रयोगकर्ताहरूले बालेनको अभिव्यक्तिलाई अभिमानी र किसानविरोधी भन्दै आलोचना गरेका छन ।
तर, किसान महासंघले भने बालेनको भाषिक भ्रमभन्दा पनि किसानको आत्मसम्मानमा चोट र्पुयाउने ढंगमा उक्त वाक्य प्रयोग भएको भन्दै स्पष्टिकरण र माफी माग्नुपर्ने अडान लिएको छ ।







