बारामा हैजा महामारीको जोखिम बढ्दै गएपछि आजदेखि जिल्लाका छ वटा स्थानीय तहमा हैजा विरुद्धको खोप अभियान औपचारिक रूपमा सुरु गरिएको छ। स्वास्थ्य मन्त्रालयको सहयोग र जिल्ला स्वास्थ्य कार्यालय बाराको समन्वयमा सुरु गरिएको यो अभियानको मुख्य उद्देश्य हैजा संक्रमणको जोखिम घटाउने र नागरिकलाई सुरक्षित बनाउने हो।

अभियानको पहिलो दिनै जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका सबै वडामा खोप कार्यक्रम सुरु भएको छ। एक वर्षभन्दा माथिका सबै व्यक्तिहरूलाई खोप लगाइने जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख रवि भाष्करले जानकारी दिए। उनका अनुसार वडा स्वास्थ्य केन्द्र, विद्यालय तथा सामुदायिक भवनहरूमा खोप केन्द्र स्थापना गरी स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको टोली परिचालन गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बाराका जनस्वास्थ्य अधिकृत कञ्चन नेपालीका अनुसार प्रारम्भिक चरणमा बारा जिल्लाका ६ पालिकामा खोप अभियान केन्द्रित रूपमा सञ्चालन हुनेछ। खोप अभियान बाराको कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकामा सुरु गरिएको हो।

अधिकृत नेपालीका अनुसार यी छ पालिकामा कुल तीन लाख ६५ हजार ९३१ जना नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन हुने छ। त्यसअन्तर्गत जनसंख्या विवरण अनुसार जीतपुरसिमरा उपमहानगरपालिकामा १ लाख २७ हजार ९ सय ५६ जना, कलैया उपमहानगरपालिकामा १ लाख ३६ हजार ४ सय ३२ जना, फेटा गाउँपालिकामा २८ हजार ६३ जना, विश्रामपुर गाउँपालिकामा २४ हजार ३ सय ५७ जना, प्रसौनी गाउँपालिकामा २४ हजार ८ सय २० जना र परवानीपुर गाउँपालिकामा २४ हजार ३ सय ३ जना नागरिकलाई खोप लगाइने योजना छ।

अभियानका लागि आवश्यक खोप र स्वास्थ्य सामग्री स्वास्थ्य सेवा विभागमार्फत जिल्लामा ल्याइएको छ। प्रत्येक खोप केन्द्रमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवक, विद्यार्थी स्वयंसेवक र स्थानीय प्रतिनिधिहरूको टोली परिचालन गरिएको छ। स्वास्थ्यकर्मीहरूले घर–घरमा जानकारी पुर्‍याउँदै नागरिकलाई खोप लिन प्रोत्साहित गरिरहेका छन।

‘हैजाको संक्रमण बढ्ने सम्भावना भएकाले यो अभियान अत्यन्तै महत्वपूर्ण छ। सर्तकता अपनाउँदै सबै नागरिकले खोप लगाउन आग्रह गरिएको छ।’ कञ्चन नेपालीले भनिन खोप लगाउँदा कुनै गम्भीर साइड इफेक्ट नदेखिने भएकाले आम नागरिकले डर बिना खोप लिन सक्छन। साथै, सरसफाइ र खानेपानीको गुणस्तर सुधार गर्न पनि सबैलाई सचेत गराइएको छ।

अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहका जनप्रतिनिधि, प्रहरी प्रशासन, विद्यालयहरू, सामुदायिक संस्थाहरू र सञ्चारकर्मीहरूसँग सहकार्य गरिएको छ। स्वास्थ्य कार्यालयले आगामी दिनहरूमा बाँकी पालिकाहरूमा पनि यो अभियान विस्तार गर्ने तयारी गरेको छ।

सबैलाई हैजा विरुद्धको खोप लिन जनस्वास्थ्य कार्यालय बाराले अपिल समेत गरेको छ। कार्यालयका अनुसार हैजाबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय नै खोप हो, त्यसैले कुनै पनि नागरिकले खोप लिन नछोड्न आग्रह गरिएको छ।

बारामा सुरु भएको यो खोप अभियान जिल्लाको सार्वजनिक स्वास्थ्य सुरक्षाको दृष्टिले एक महत्वपूर्ण कदम मानिएको छ। हैजा नियन्त्रणसँगै नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने यस अभियानले समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय