नेपाल कम्युनिष्ट पार्टी एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बाराले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा औपचारिक रूपमा किटानी जाहेरी दर्ता गरेको छ।

संघले सोमबार दिउँसो जाहेरी दर्ता गर्दै दुवै जनालाई पछिल्ला दिनमा देशभर चलेको जेनजी आन्दोलनका क्रममा भएको आगलागी, लुटपाट, तोडफोड तथा सरकारी संरचनामाथि भएको विध्वंसका घटनामा प्रत्यक्ष तथा परोक्ष रूपमा संलग्न रहेको आरोप लगाएको छ। संघले सो घटनाका लागि उनीहरूलाई नै जिम्मेवार ठहराउँदै कानूनी कारबाहीको माग गरेको हो।

जाहेरी दर्ता गर्नु अघि राष्ट्रिय युवा संघ बाराले शक्ति प्रदर्शनका रूपमा मोटरसाइकल र्‍याली आयोजना गरेको थियो। नेकपा एमाले पार्टी कार्यालय पन्नाबागमा भेला भएका कार्यकर्ताहरूले राज्यविरुद्धको अराजकता र हिंसा रोक्नुपर्छ भन्ने नारासहित र्‍याली प्रस्थान गरेका थिए।

राष्ट्रिय युवा संघ बाराका अध्यक्ष सद्वाम अन्सारीको नेतृत्वमा पन्नाबागबाट सुरु भएको र्‍याली नगरका विभिन्न सडक हुँदै जिल्ला प्रहरी कार्यालय बारामा पुगेर समाप्त भएको थियो। त्यहाँ संघका प्रतिनिधिहरूले जिल्ला प्रहरी कार्यालय बाराका निम्मित प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) बिजयराज पण्डितलाई जाहेरी पत्र बुझाएका थिए।

र्‍यालीमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव मोबिन आलम, केन्द्रीय सदस्य तथा मधेश प्रदेश सह–इन्चार्ज राम यादव, केन्द्रीय सचिवालय सदस्य भावना आचार्य लगायत पार्टीका जिल्ला स्तरीय नेता तथा सयौं कार्यकर्ताहरू सहभागी थिए। र्‍यालीका क्रममा सहभागीहरूले देशभक्त शक्ति एकजुट होऔँ, अराजकता बन्द गर लगायतका नाराहरू पनि लगाएका थिए।

संघका मधेश प्रदेश सह–इन्चार्ज तथा युवा नेता राम यादवले भने,‘हामी शान्ति, स्थायित्व र कानूनी शासनको पक्षमा छौँ। बालेन शाह र सुदन गुरुङले नेतृत्व गरेको आन्दोलनले जनतालाई भ्रममा पार्दै हिंसालाई प्रोत्साहन दिएको छ। त्यसैले हामीले उनीहरूविरुद्ध कानूनी प्रक्रिया अघि बढाएका हौँ।’

उनका अनुसार राष्ट्रिय युवा संघ नेपालले मधेश प्रदेशका आठवटै जिल्लामा एकसाथ शक्ति प्रदर्शन कार्यक्रम सम्पन्न गरेको हो। यस अभियानको उद्देश्य अराजक गतिविधिविरुद्ध जनमत निर्माण गर्नु र जनतालाई संयम र शान्तिपूर्ण विरोधको अभ्यासतर्फ प्रेरित गर्नु रहेको यादवले बताएका छन।

देशका विभिन्न जिल्लामा जेनजी आन्दोलनका क्रममा तोडफोड, सडक अबरोध र सरकारी सम्पत्तिमाथि आक्रमणका घटना भएका थिए। ती घटनामा विभिन्न राजनीतिक समूह र स्वतन्त्र कार्यकर्ताहरूको संलग्नता रहेको आशंका प्रहरीले जनाएको छ।

राष्ट्रिय युवा संघले भने भविष्यमा पनि यस्ता गैरजिम्मेवार राजनीतिक व्यवहारविरुद्ध कानूनी र राजनीतिक रूपमा विरोध जारी राख्ने चेतावनी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय