बाराको निजगढ नगरपालिका–९ स्थित हिमचुली साना किसान कृषि सहकारी संस्थाको १५औँ वार्षिक साधारण सभामा नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले सहकारी संस्थाहरूले आफ्ना शेयर सदस्यहरूको आर्थिक उन्नति र प्रगतिका लागि आपसी सहकार्यका साथ अघि बढ्नुपर्ने बताएका छन।
शनिबार प्रमुख अतिथिका रूपमा बोल्दै नेता पौडेलले सहकारी संस्थाहरूमा हेलाहोचा, थिचोमिचो, अन्याय र असमानता हुनु नहुने बताए। उनले भने,‘सदस्यहरूको आर्थिक प्रगति र उन्नतिको लागि शेयरधनीहरूले सहकार्य गर्नुपर्छ। तर नेपालका केही संस्थाहरू सहकारीको भावना विपरीत चलिरहेका कारण समस्या देखिएका छन।’
सहकारीलाई केही व्यक्तिले ठगी खाने भाँडो बनाएकोप्रति दुःख व्यक्त गर्दै पौडेलले सहकारीमा सहभागी बनेका प्रत्येक सदस्यले कुनै न कुनै क्षेत्रमा लाभ प्राप्त गर्नुपर्नेमा जोड दिए। उनका अनुसार सहकारीको सदस्य बन्नुको अर्थ आर्थिक, शैक्षिक, सीप र ज्ञान आर्जनमा प्रगति गर्नु हो।



कार्यक्रम सहकारी संस्थाकी अध्यक्ष दुर्गा कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गौरीशंकर क्याम्पस निजगढ सञ्चालक समितिका अध्यक्ष तथा निजगढ नगरपालिकाकी पूर्व उपप्रमुख लिलादेवी लामिछाने खनाल, एकबहादुर श्रेष्ठ, सगरमाथा सहकारीका अध्यक्ष भोलाप्रसाद गौतम, बागदेव दुग्ध उत्पादक सहकारीका अध्यक्ष थानेश्वर सापकोटालगायतले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा उपाध्यक्ष सम्झना लामिछाने थापाले स्वागत मन्तव्य दिएकी थिइन् भने सञ्चालन अर्जुनप्रसाद अधिकारीले गरेका थिए।
सभामा अध्यक्ष दुर्गाकुमारी घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक रामचन्द्र मण्डलले पेश गरेको लेखा परीक्षण प्रतिवेदन र व्यवस्थापक सूर्यप्रसाद तिमल्सिनाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ।
कार्यक्रममा यस वर्ष एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्य परिवारका छात्र हिमान्सु घिमिरे र छात्रा अपेक्षा पौडेललाई सम्मान गरिएको थियो।
त्यस्तै जेष्ठ सदस्य शुभद्रा उप्रेती, कर्मचारी राजकुमार फुयाल र पूर्वकर्मचारी कमलप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो। असल कारोबारतर्फ रामकृष्ण पाण्डे र असल समूह बचततर्फ समूह नम्बर १४९ लाई पनि सम्मानित गरिएको थियो।
सभाले दुर्गा कोइरालाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा सम्झना थापा लामिछाने र सदस्यहरूमा अर्जुनप्रसाद अधिकारी, अरुणाकुमारी उप्रेती, रमा अधिकारी, फूलमाया लो, देवकी रेग्मी, रिता चापागाईं र जयराम अधिकारी रहेका छन।
त्यसैगरी, बालकृष्ण सापकोटाको संयोजकत्वमा कोशिला पाठक र कोपिला राई सदस्य रहेको तीन सदस्यीय लेखा समिति पनि चयन गरिएको छ।







