बाराको सिम्रौनगढ नगरपालिका–६ पानी टंकी नजिकै रहेको इशरा पोखरीको डिलमा माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन। शनिबार बिहान करिब ९ बजेतिर घर लिपपोत गर्न माटो खन्ने क्रममा अचानक ढिस्को खस्दा उनीहरू माटोमा पुरिएका थिए।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार कार्यका लागि घटनास्थलमा खटिएको थियो। स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले माटोमा पुरिएका सबै आठ जनालाई तत्काल निकालेर उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाएको जनाएको छ।



उद्धारपछि अस्पताल लैजाने क्रममा सिम्रौनगढ नगरपालिका–६ सानो इटवालकी ७० वर्षीया शारदा देवी महतोको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव हाल प्रादेशिक अस्पताल कलैयामा राखिएको छ। त्यस्तै, सिम्रौनगढ नगरपालिका–५ सानो इटवालका १५ वर्षीय सुनिल महतो निरहुवालाई उपचारका लागि कलैया मेट्रो अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा घाइते भएका छ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सिम्रौनगढ नगरपालिका–६ सानो इटवालका १४ वर्षीय साजन महतो सिम्रौनगढ कंकाली अस्पतालमा उपचाररत छन। उनको हातखुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। सोही ठाउँका १५ वर्षीय नितेश महतो पनि कंकाली अस्पतालमै उपचाररत छन । उनको हात, खुट्टा र टाउकोमा चोट लागेको छ।
त्यस्तै, सिम्रौनगढ नगरपालिका–६ अमरपुरका १८ वर्षीय गौतम मुखिया प्रादेशिक अस्पताल कलैयामा उपचाररत छन। उनको हातखुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको जनाइएको छ। सिम्रौनगढ नगरपालिका–५ सानो इटवालकी १४ वर्षीया रानी कुमारी महतोको बायाँ हात भाँचिएको छ र उनी कंकाली अस्पतालमा उपचाररत छिन। सोही वडाकी १४ वर्षीया सुशिला कुमारी महतो धर्मनगर अस्पताल सिम्रौनगढमा उपचाररत छन, उनको हातखुट्टामा चोट लागेको छ।
त्यस्तै, १५ वर्षीय राजा बाबु शर्मा पनि सोही अस्पतालमा उपचाररत छन। उनको ढाड र कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ। सबै घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक पवन पछाईंका अनुसार स्थानीयहरू माटो खन्ने क्रममा ढिस्को खस्दा आकस्मिक रूपमा घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।
स्थानीयहरूले माटो खन्ने ठाउँमा सुरक्षा सावधानी नअपनाइँदा पटक–पटक यस्ता दुर्घटना हुने गरेको बताउँदै माटो खन्ने क्षेत्रमा स्थानीय प्रशासनले ध्यान दिनुपर्ने बताएका छन।






