बाराको प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय बिक्की गोस्वामीको शव बेपत्ता भएको छ दिनपछि फेला परेको छ। गत आइतबार बिहान टिकटक भिडियो बनाउने क्रममा दुधौरा पुलबाट खोलामा हामफालेका गोस्वामी शुक्रबार बिहान मृत फेला परेका हुन।
इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार गोस्वामीको शव फेटा गाउँपालिका–१ त्रिवेणी खोलामा बिहान करिब ७ बजे फेला परेको हो। शव त्रिवेणी खोलाको पुलबाट करिब १०० मिटर दक्षिणपट्टि खोलाको बीच भागमा बालुवाले छोपिएको अवस्थामा—खुट्टा र कपडा देखिने गरी भेटिएको प्रहरीले जनाएको छ।



श्रेष्ठका अनुसार शव फेला परेपछि प्रहरी टोलीले अनुसन्धान तथा मुचुल्का प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया बारा पठाएको छ। उनले भने,‘घटना भएको पहिलो दिनदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा निरन्तर खोज तथा उद्धार कार्य चलाइएको थियो। तर वर्षाको कारण खोलामा पानीको बहाव तीव्र भएकाले कठिनाइ भएको थियो।’
गत आइतबार बिहान करिब ८ः३० बजे प्रसौनी गाउँपालिका–२ बस्ने शम्भु गोस्वामीका छोरा बिक्की गोस्वामी र शंकर केसरवानीका छोरा अनुराग केसरवानी टिकटक भिडियो बनाउने उद्देश्यले दुधौरा पुलमा पुगेका थिए। मनोरञ्जनस्वरूप दुवैले खोलामा हाम फालेका थिए। तर खोलामा पानीको बहाव तीव्र भएकाले बिक्की गोस्वामी बगेर बेपत्ता भएका थिए भने अनुराग पौडी खेलेर बाहिर निस्किन सफल भएका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनी र सशस्त्र प्रहरी बल नेपाल नं. १२ हेडक्वार्टर बाराको संयुक्त टोली तत्काल घटनास्थल पुगेको थियो। सशस्त्र प्रहरी विपत व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक सन्दीप अर्यालको नेतृत्वमा खोलाको करिब एक किलोमिटर क्षेत्रभित्र खोज तथा उद्धार कार्य प्रारम्भ गरिएको थियो।
तर, खोलाको पानी बढेकाले र बाढीको प्रवाह तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त प्रयासमा खोलाको आसपासका क्षेत्रमा निरन्तर खोजी जारी राखिएको थियो। तर शव फेला नहुदाँ नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले खाजी कार्य बन्द गरेको भएतापनि नेपाल प्रहरीले भने खोजी कार्य जारी गरेको थियो ।
अन्ततः शुक्रबार बिहान त्रिवेणी खोलाको बीच भागमा गोस्वामीको शव फेला परेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि पठाएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।






