बारामा पुनः कफ्र्यू आदेश जारी गरिएको छ । देशमा हाल जारी घटनाक्रमलाई मध्यनजर गर्दै बारा जिल्लामा पनि अनुचित फाइदा उठाउने उद्देश्यले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमा क्षति, लुटपाट र आगजनी हुने जोखिमलाई रोक्न जिल्ला प्रशासन कार्यालय बाराले यो निर्णय गरेको बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पौडेलले भने, आज बिहिबार राति ८ बजेदेखि शुक्रबार विहान ६ बजेसम्म बारा जिल्लाभर कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न रोक लगाइएको छ । प्रशासनले यस आदेशको मुख्य उद्देश्य सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा हुने क्षति, लुटपाट, आगजनी र व्यक्ति लक्षित हिंसात्मक गतिविधि रोक्नु र जिल्लाको शान्ति, सुरक्षा तथा अमनचयन कायम राख्नु रहेको जनाएको छ ।



कफ्र्यूको अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, जस्तै एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटका आधारमा हवाई यात्त्रुहरुको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने व्यवस्था गरिएको छ । प्रशासनले आवश्यक सेवामा कुनै व्यवधान नहोस् भनेर विशेष प्रबन्ध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिकहरुलाई आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति, सुरक्षा र जनजीवनको व्यवधान नहोस् भन्ने लक्ष्यका साथ प्रशासनले सबै कदम चालिरहेको बताएका छन । साथै, उनले असामाजिक गतिविधिमा संलग्न नहुने र सुरक्षाकर्मी तथा प्रशासनसँग सहकार्य गर्ने सबै नागरिकलाई आह्वान गरेका छन ।






