सोमबार काठमाडौंमा भएको जेन-जी युवा समूहको भ्रष्टाचारविरोधी प्रदर्शनको क्रममा घाइते भएका नागरिकको उपचारको लागि राजधानीका विभिन्न अस्पतालमा भर्ना गरिएको छ । घटनाका घाइतेलाई भेट्न र स्वास्थ्य अवस्थाबारे जानकारी लिन आएका उनका आफन्तलाई सहज आवतजावत उपलब्ध गराउन नारायणी यातायात व्यवसायी संघले विशेष व्यवस्था मिलाएको छ ।
हेटौंडाबाट बल्खु हुँदै काठमाडौं जान वा फर्कन चाहने घाइतेका परिवारजनले संघसँग सम्पर्क गरी निःशुल्क सुमो टिकट पाउन सक्नेछन संघका महासचिव सरोजकुमार खनालले जारी गरेको सूचनामा भनिएको छ । यस्तै संघले आवश्यकता अनुसार घाइतेका परिवारलाई आवतजावतमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।



खनालले भने,‘देशव्यापी आन्दोलनमा घाइते भएका युवाका परिवारहरूलाई थप आर्थिक बोझ नहोस् भन्ने हाम्रो उद्देश्य हो । घाइतेको उपचारको क्रममा परिवार नजिक रहन पाओस् भन्ने सोचले यो सुविधा दिन लागिएको हो ।’
संघका अनुसार, यो सुविधा सबै आवश्यकता अनुसार दिइनेछ र हेटौंडा-बल्खु-काठमाडौं मार्गमा सुमो यातायातको माध्यमबाट सुविधाजनक आवतजावतको व्यवस्था गरिनेछ ।
नारायणी यातायात व्यवसायी संघको यो कदमले घाइतेका परिवारलाई मानसिक तथा आर्थिक रूपमा सहजता मिल्ने अपेक्षा गरिएको छ ।






