बारामा हैजा संक्रमण थप एकजनामा पुष्टि भएको छ । कलैया उपमहानगरपालिका–१९ का ४५ वर्षीय मनीर अन्सारीमा हैजा देखिएको प्रादेशिक अस्पताल कलैयाका प्रमुख तथा मेसु डा. अजयकुमार गुप्ताले जानकारी दिए ।
स्वास्थ्य कार्यालय बाराका प्रमुख राम नरेश यादवका अनुसार अन्सारी हाल प्रादेशिक अस्पताल कलैयामा उपचाररत छन । उनको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताए जानकारी दिए ।



यसअघि बुधबार कलैया उपमहानगरपालिका–१८ पतौराका करिब ३५ वर्षीय देवनाथ पटेलमा पनि हैजा संक्रमण पुष्टि भएको थियो । पटेलमा संक्रमण देखिएलगत्तै स्वास्थ्यकर्मीको टोली तुरुन्तै घटनास्थलमा खटिएको थियो । टोलीले संक्रमितको घर वरपर खानेपानी परीक्षण, रोग नियन्त्रणका लागि क्लोरिन छर्कने र सम्भावित संक्रमितको स्वास्थ्य परीक्षण गर्ने कार्य गरेको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साहले बताए ।
लगातार दुई जनामा संक्रमण पुष्टि भएपछि बाराभर त्रास फैलिएको छ । स्थानीयवासी असुरक्षित खानेपानी र कमजोर सरसफाइ व्यवस्थापनकै कारण रोग अझै फैलिने डरमा छन ।
स्वास्थ्य शाखाले निगरानी तीव्र बनाएको भए पनि रोग नियन्त्रणका स्थायी प्रयास गर्न सरकारी निकाय ढिलाइ गरिरहेको भन्दै आलोचना बढेको छ । ‘सिर्फ क्लोरिन छर्केर हैजा नियन्त्रण हुँदैन, सरकारले खानेपानी आपूर्ति सुधार गर्न र जनचेतनामूलक अभियान तत्कालै चलाउनुपर्छ,’ एक स्थानीय स्वास्थ्यकर्मीले भने ।
स्वास्थ्य निकायले सुरक्षित खानेपानी प्रयोग गर्न, खानपानमा विशेष ध्यान दिन र हैजासँग मिल्दोजुल्दो लक्षण देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ । तर, स्थानीय बासिन्दाले भने अवस्था गम्भीर हुँदै गएको चेतावनी दिँदै सरकारले स्थायी समाधानका लागि ठोस कदम चाल्नुपर्ने माग गरेका छन ।






