कपिलवस्तु प्रहरीले फरार अभियुक्तहरूलाई पक्राउ गर्ने अभियानलाई कडाइका साथ अघि बढाउँदै गत एक महिनाभित्र मात्रै ३० जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सोमबार आयोजना गरेको मासिक पत्रकार भेटघाटमा प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा कपिलवस्तु प्रहरी प्रवक्ता रिपेन्द्र कुमार सिंहले सो जानकारी दिएका हुन ।

प्रहरी नायव उपरीक्षक सिंहका अनुसार पक्राउ परेकामध्ये २४ जना पुरुष र ६ जना महिला रहेका छन । यी प्रतिवादीहरूलाई विभिन्न अदालतले अपराधमा दोषी ठहर गर्दै कैद तथा जरिवाना तोकेका थिए तर उनीहरू फरार रहँदै आएका थिए । प्रहरी नायव उपरीक्षक सिंहले भने,‘पक्राउ परेकामाथि अदालतले तोकेको ६ वर्ष ३ महिना २ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने ३ लाख १२ हजार ५ सय ४० रुपैयाँ जरिवाना पनि असुल गरिएको छ ।’

फरार प्रतिवादी पक्राउ अभियानसँगै कपिलवस्तु प्रहरीले लागुऔषध नियन्त्रणमा पनि उल्लेख्य उपलब्धि हासिल गरेको छ । प्रहरीका अनुसार साउन महिनाभरि मात्र १३ ग्राम ५९१ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ । यस क्रममा चारवटा छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको र ६ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै नियमित सवारी–सडक जाँच अभियानमार्फत प्रहरीले एक महिनाभित्र २ लाख ७० हजार रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिइएको छ ।

पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता सिंहले पछिल्लो समय जिल्लामा आत्महत्याका घटनामा पनि चासो बढेको बताए । उनका अनुसार साउन महिनाभित्र मात्रै १२ जनाले आत्महत्या गरेका छन, जसलाई गम्भीर सामाजिक चुनौतीका रूपमा लिनुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रहरी नायव उपरीक्षक सिंहका अनुसार प्रहरी फरार अपराधी पक्राउ, लागुऔषध नियन्त्रण, ट्राफिक व्यवस्था र सामाजिक अपराध नियन्त्रणमा निरन्तर क्रियाशील रहँदै आएको छ । उनले स्थानीयवासीसँग सहकार्य गर्दै जिल्लालाई सुरक्षित र शान्त बनाउन प्रहरीले आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय