जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले नेपाल बार एसोसिएशन जनकपुरमा संगठित वकिलहरूको समूहले पत्रकारमाथि अन्याय गरेको बताएका छन । पत्रकारमाथि भएको आक्रमणबारे गुनासो राख्न सोमबार नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति र धनुषा शाखाका प्रतिनिधिहरूले नगरप्रमुख साहलाई भेट गरेका थिए ।

पत्रकारहरूको कुरा सुनेपछि नगरप्रमुख साहले जनकपुर उपमहानगरपालिका पत्रकार महासंघको पक्षमा स्पष्ट रूपमा उभिएको बताए । उनले भने,‘बारमा संगठित अधिवक्ताहरूले तपाईहरूलाई अन्याय गरेका छन । जनकपुर उपमहानगरपालिका पत्रकार महासंघसँगै छ । यस घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीलाई कडा कारबाही गर्नुपर्छ ।’

नगरप्रमुख साहका अनुसार नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले कानुनी प्रक्रिया पूरा गर्दै जनकपुर–४ मा रहेको श्रीराम गुढी स्वामित्वको चार कठ्ठा जग्गा २० वर्षका लागि लिजमा लिएको हो । सो जग्गा वार्षिक तीन लाख एक हजार एक सय रुपैयाँ भाडा बुझाएर सुरक्षित रूपमा प्राप्त गर्न नगरपालिकाले समेत सहयोग गरेको उनले जानकारी दिए । तर, त्यही विषयलाई लिएर नेपाल बार एसोसिएशन जनकपुरका वकिलहरूले विवाद खडा गर्दै पत्रकारमाथि आक्रमण गर्नेसम्मको अवस्था सिर्जना हुनु दुःखत रहेको अनले बताए ।

नगरप्रमुख साहले विवादमा आएको माटोको विषयमा समेत प्रष्ट्याए । उनका अनुसार प्रदेश सरकारले गंगासागर पोखरी उत्खनन गर्दा निस्किएको माटो खाली सार्वजनिक स्थानमा राख्ने क्रममा महासंघले लिएको जग्गामा थुपारिएको थियो । तर, केही वकिलहरूले व्यक्तिगत रूपमा खरिद गरेर ल्याएको भन्दै गलत प्रचार गरेको उनको भनाइ छ। ‘वास्तवमा यो माटो प्रदेश सरकारकै उत्खननबाट आएको हो। तर गलत बुझाइ फैलाई पत्रकारमाथि आक्रमण गर्नु दुःखद छ,’ उनले भने।

साउन २७ गते पत्रकार महासंघले लिजमा लिएको जग्गामा तारबार गर्ने काम भइरहेका बेला बार एसोसिएशन जनकपुरमा संगठित वकिलहरूको समूहले अवरोध मात्र गरेन, हुलदंगा मच्चाउँदै उपस्थित पत्रकारहरूलाई लक्षित गरेर आक्रमणसमेत र्गयो । सो क्रममा महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो, सञ्चारकर्मी दिवाकर राय, अनिल कुमार निराला र बिनिता यादव घाइते भए।

तीमध्ये सञ्चारकर्मी दिवाकर रायको अवस्था गम्भीर रहेको र हाल उपचार भइरहेको छ। महासचिव शैलेन्द्र महतोको खुट्टा दुई स्थानमा भाँचिएको छ भने बाँकी पत्रकारहरू पनि विभिन्न चोटपटकसहित घाइते भएका छन ।

पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले नगरप्रमुख साहलाई घटनाबारे विस्तृत जानकारी दिँदै यसलाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको गम्भीर आक्रमणका रूपमा व्याख्या गरे। ‘हामीले कानुनी बाटोबाट प्राप्त गरेको जग्गामा तारबार गर्न थालेको मात्र थियौं। तर बारमा संगठित अधिवक्ताहरूको समूहले हुलदंगा मच्चाएर हामीमाथि कुटपिट र्गयो,’ उनले भने।

उक्त भेटमा महासंघ मधेश प्रदेशका उपाध्यक्ष ज्योति झा, सचिव हदिस खुदार, बिनिता यादव, महासंघ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ता, उपाध्यक्ष अवधेश कामत, निबिन मिश्रालगायतका पत्रकारहरूको पनि उपस्थिति थियो।

नगरप्रमुख साहले अन्त्यमा जनकपुर उपमहानगरपालिका पीडित पत्रकारहरूको पक्षमा उभिने र उनीहरूलाई न्याय दिलाउन आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘पत्रकारमाथि भएको यो आक्रमण लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रतामाथि गरिएको चोट हो। यसलाई हल्का रूपमा लिन सकिँदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय