प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय विदेशसचिव विक्रम मिस्रीले भारत भ्रमणको निम्तो दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा पत्र ओलीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालय स्रोतले पुष्टि गरेको छ।



‘मोदीजीले पठाउनुभएको निमन्त्रणा पत्र विदेश सचिवले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभयो,’ अन्नपूर्णसँग परराष्ट्र स्रोतले भन्यो, ‘अब दुबै पक्ष बसेर एजेन्डा र भ्रमणको मोडालिटीलगायतका विषयमा छलफल गर्छौं।’ निमन्त्रणा पत्र प्राप्त भएकाले भ्रमणबारे छिट्टै निर्णय गरिने स्रोतको भनाइ छ।
यद्यपि, परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमण भने सार्वजनिक गरेका छैनन्। प्रधानमन्त्री ओली भदौ ३१ गते औपचारिक भारत भ्रमणमा जाने गरी दुबै देशले अनौपचारिक तयारी गरिरेहका छन्।
आइतबार काठमाडौं आइपुगेका विदेशसचिव मिस्रीले सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका थिए। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा विदेशसचिव मिस्री दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार त्यसअघि प्रधानमन्त्री ओली चार दिने भ्रमणमा चीन जान लागेका छन्। सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन उनी भदौ १४ गते चीन जान लागेको मन्त्रालयले जनाएको छ। चीनबाट फर्किएलगत्तै ओली भारत जानेछन्।






