बारा जिल्लाको निजगढ नगरपालिका–८ स्थित तामागढीमा सवारी दुर्घटनामा एक युवकको मृत्यु भएपछि फरार रहेका ट्रक चालकलाई प्रहरीले एक सातापछि नियन्त्रणमा लिन सफल भएको छ ।

गत साउन १३ गते राति करिब ११ बजेको समयमा पूर्व–पश्चिम राजमार्गमा पैदल हिँडिरहेका कोल्हबी नगरपालिका–५ का २० वर्षीय समिर चौधरीलाई अज्ञात गाडीले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि वीरगन्जस्थित एसएल न्युरो अस्पताल र्पुयाइएको थियो । तर भोलिपल्ट साउन १४ गते उपचारकै क्रममा उनको मृत्यु भयो।

दुर्घटनापछि घटनास्थलबाट फरार भएको सवारी साधनको पहिचान तत्काल हुन सकेन। तर, इलाका प्रहरी कार्यालय निजगढले घटनाको अनुसन्धानलाई तीव्रता दिँदै राजमार्ग भएर गुड्ने सवारीसाधन र चालकहरूको विवरण संकलन गर्न थाल्यो।

प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार दर्जनौं गाडीका चालकहरूलाई सोधपुछ गरेर सिसिटीभी फुटेज, मोबाइल लोकेसन, र स्थानीय साक्ष्यहरूको अध्ययनका आधारमा प्रहरीले उक्त ठक्कर को १ ख ७८०८ नम्बरको ट्रकबाट भएको पुष्टि गरेको हो ।

अनुसन्धानको क्रममा सो ट्रक वीरगन्जका सन्दीपकुमार भण्डारीको नियन्त्रणमा रहेको पाइएको र उनलाई ट्रकसहित लुकाइएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउपछि आइतबार जिल्ला अदालत कलैयाबाट चालक भण्डारीको सात दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको छ । प्रहरीले अब दुर्घटनाको कारण, चालकको लापरवाहीको अवस्था, ट्रक मालिकको संलग्नता र क्षतिपूर्तिका विषयमा थप अनुसन्धान गर्ने जनाएको छ।

प्रहरी निरीक्षक लामिछानेका अनुसार,‘घटनालगत्तै चालक फरार भएका कारण अनुसन्धान चुनौतीपूर्ण बनेको थियो। तर प्रविधिको प्रयोग र गम्भीर अनुसन्धानको कारण एक साताभित्रै ट्रक र चालक पत्ता लगाउन सफल भयौं ।’

समिर चौधरीको मृत्युपछि पीडित परिवारले दोषी पहिचान गरी कानुनी कारबाहीको माग गर्दै प्रहरी प्रशासनसँग भेटघाटसमेत गरेको थियो।

हाल घटनासँग सम्बन्धित ट्रक निजगढ प्रहरीको नियन्त्रणमा छ भने चालक भण्डारीमाथि मुलुकी फौजदारी संहिताअनुसार लापरवाहीपूर्वक सवारी सञ्चालन गरी ज्यान मार्ने कसुरमा मुद्दा दर्ता गरिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय