रौतहटको चन्द्रपुर नगरपालिका- ९ स्थित सिन्दुरेघारी चाँदीखोलामा ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममार्फत निर्माणाधीन अवस्थामा रहेका ‘जन्मोत्सव पार्क’ मा योगदान पुर्याएको भन्दै दुई सरकारी कर्मचारीलाई सम्मान गरिएको हो।
तराई विकास तथा सञ्चार केन्द्र नेपाल, काठमाडौंको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्वाधार विकास कार्यालय, गौर रौतहटका प्रमुख इन्जिनियर दीपक कुमार मिश्र र लेखा अधिकृत सुदीप गौतमलाई सम्मानपत्र प्रदान गरिएको हो । जन्मोत्सव पार्क निर्माणमा उनीहरूको निरन्तर सहयोग र पहलको उच्च मूल्याङ्कन गर्दै सो सम्मान दिइएको आयोजकले जनाएको छ ।



कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाका प्रमुख उमाकान्त आचार्य, प्रमुख जिल्ला अधिकारी विनोद खड्का, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरी, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी रूपा लाबुङ र तराई विकास तथा सञ्चार केन्द्रका अध्यक्ष गोविन्द प्रसाद चौलागाईं लगायतले मिश्र र गौतमलाई संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी खड्काले जन्मोत्सव पार्कको पूर्णता नआएसम्म पनि सक्रियता पूर्वक काम गर्दै आएका दुई अधिकारीको योगदान उदाहरणीय रहेको बताए। उनले जन्मदिनलाई सत्कर्ममा जोड्ने अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको उल्लेख गरे।
‘अझै पनि सरकारी कर्मचारीहरूबाट जनहितका कार्यहरूमा अग्रसरता देखिनु सन्तोषजनक विषय हो,’ खड्काले भने,‘यो प्रयासले अन्य ठाउँमा पनि यस्ता सकारात्मक कार्यका लागि प्रेरणा दिनेछ ।’
कार्यक्रममा बोल्ने वक्ताहरूले जन्मोत्सव पार्कले पर्यावरणीय सन्तुलन, पर्यटन प्रवद्र्धन तथा सामाजिक उत्तरदायित्वको अभ्यासका रूपमा नयाँ अभ्यास सुरु गरेको बताएका थिए ।
पार्कको निर्माण कार्य जारी रहेकाले आगामी दिनमा अझ थप वृक्षारोपण तथा पूर्वाधार थपिने जनाइएको छ ।






