बाराको सिम्रौनगढ नगरपालिका–६ स्थित नहर किनाराबाट प्रतिबन्धित लागू औषध ट्रामाडोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन । पक्राउ परेका व्यक्ति मोटरसाइकलको लेगार्डमा लागू औषध बोकी नेपाल भित्र्याउने क्रममा पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय वीरगञ्ज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले मङ्गलवार साँझ करिब ७ः३० बजे विशेष सूचनाको आधारमा सिम्रौनगढको पावरहाउस चोकदेखि पूर्वतर्फ करिब ५०० मिटरको दूरीमा पर्ने नहर नजिकैबाट मोटरसाइकलमा सवार एक व्यक्तिलाई रोकी चेकजाँच गरेको थियो ।

प्रहरी निरीक्षक खेम प्रसाद नेपालको नेतृत्वमा खटिएको टोलीले भारततर्फको बी आर ०५ बी के ७०३५ नम्बरको होन्डा एसपी साइन मोटरसाइकलको पछाडिपट्टि बाँधिएको बोरामा शंका लागेर खोल्दा ट्रामाडोल लेखिएको एक हजार ०३८ पत्ता जम्मा दश हजार ३८० क्याप्सुल लागू औषध फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङ्गले जानकारी दिए ।

पक्राउ परेका व्यक्ति भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्लाको जितना थाना क्षेत्र, ग्राम पञ्चायत अगर्वा वडानम्बर ६ को कोडीगावा टोल निवासी ५० वर्षीय मन्जन साह भनिने उपेन्द्र साह रहेका छन ।

प्रहरीका अनुसार, ट्रामाडोल एक किसिमको शक्तिशाली पीडानाशक औषधि हो, जसलाई नेपाल सरकारले लागू औषध ऐनअन्तर्गत प्रतिबन्धित सूचीमा राखेको छ । यस औषधिको दुरुपयोग अत्यधिक लत लगाउने खालको हुने भएकाले यसको ओसारपसार र व्यापार पूर्ण रूपमा गैरकानुनी मानिन्छ ।

प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले पक्राउ परेका व्यक्ति र बरामद मोटरसाइकलसहित लागू औषधलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । उनका अनुसार यस घटनाले सीमा क्षेत्रमा हुँदै आएको लागू औषध तस्करीमाथि थप निगरानी आवश्यक भएको पुष्टि गरेको छ ।

यसअघि पनि बाराको विभिन्न नाका र सडकमार्ग हुँदै लागू औषध तस्करी भइरहेको अवस्थामा प्रहरीले पटक–पटक ठूलो परिणाममा औषधि बरामद गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय