बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ मा दलित समुदायको लागि निर्माणाधीन पक्की घरमा अवरोध सिर्जना गर्ने उद्देश्यले केही व्यक्तिहरुले नियोजित सडयन्त्र गरिरहेको आरोप दलित समुदायले लगाएका छन ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै दलित हकहित अधिकार मञ्च जीतपुरसिमरा–१६ का अध्यक्ष राजकुमार पासवानले पक्की घर बन्न थालेपछि केही व्यक्ति असहज बनेको र त्यसैको परिणामस्वरूप निर्माण कार्यमा व्यवधान ल्याउने प्रयास भइरहेको बताएका हुन । ‘झुपडीमा जीवन बिताएका हामी जस्ता दलित समुदायले जब सम्मानजनक घर पाउन थाल्यौं, तब कसैको पेट दुख्यो,’ अध्यक्ष पासवानले भने, ‘विकासको काम बिगार्ने प्रयास गम्भीर सडयन्त्र हो, जसको पर्दाफास हुनु आवश्यक छ।’



पानी चुहिने खरको झुपडीमा विगत धेरै वर्षदेखि बस्दै आएका टोलकै चौकीदार बुधन माझीले पक्की घर बन्न थालेपछि समुदायभित्र ठूलो खुसी छाएको बताउँदै केही मानिस त्यो खुसी देख्न नसकिरहेको गुनासो गरे। ‘झुपडीमा पस्दा पानीले ओथारो लाउने अवस्था थियो। अहिले ढलान भएको घर देखेर आँखा रसाउँछ,’ उनले भने।
यता पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेका सुरेश माझीले आफूलाई जानकारी नदिई मिडियामा प्रयोग गरिएको भिडियोमा ईँटा फुटाउन लगाइएको दाबी गरेका छन्। उनले भने,‘मलाई प्रयोग गरियो। मसँग सहमति लिइएन। यसले हाम्रो समुदायको छवि बिगार्न खोजिएको छ ।’
त्यसैगरी टोल विकास समितिका अध्यक्ष बृजकिशोर महत्तोले घर निर्माणको क्रममा केही प्राविधिक कमजोरी देखिए पनि त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। ‘कमजोरी देखियो भने सच्यौं, तर काम नै रोक्ने या भत्काउने मनसायले हुने कार्यको हामी विरोध गर्छौं,’उनले भने।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष हरिदेव खरेलले भने नेकपा (एमाले) नेतृत्वको जनप्रतिनिधिहरुले गरेका विकास कार्यहरूलाई बदनाम गर्न नियोजित रुपमा अवरोध सिर्जना गरिएको आरोप लगाए। ‘दलित बस्तीमा विकास भइरहेको छ, घर बनिरहेको छ, त्यसलाई स्वागत गर्नुको सट्टा केही व्यक्तिहरू विघ्न र्पुयाउनतिर लागेका छन,’ खरेलले भने, ‘यस्ता गतिविधि सह्य हुँदैन। दोषी को हुन, पत्ता लगाइनेछ ।’
यस घटनाले दलित समुदायको विकासप्रतिको आशा र आत्मविश्वासमा चोट र्पुयाएको भन्दै स्थानीय स्तरमा गम्भीर बहस सुरु भएको छ। स्थानीय सरकार र सरोकारवालाले यस्ता सडयन्त्रकारी प्रयासको छानबिन गरेर आवश्यक कारबाही गर्नुपर्ने माग समेत उठेको छ।
‘विपन्नसँग मदन भण्डारी आवास कार्यक्रम’ अन्तर्गत जीतपुरसिमरा–१६ मा दलित तथा विपन्न समुदायका लागि २० वटा घर निर्माण भइरहेको छ । खोला छेउमा फुसको घरमा दैनिक गुजारा चलाउँदै आएका दलित, माझी समुदायका नागरिक नयाँ घरमा बस्न पाइने भो भन्नेमा खुसी छन ।






