प्रेम विवाह र त्यसपछिको सम्बन्धविच्छेद प्रकरणले जटिल मोड लिँदै जाँदा बारा प्रहरीले हलखोरिया साझेदारी वन समूहका अध्यक्ष विकल्प भट्टराईलाई पक्राउ गरेको छ।
घटनाको मूल जड केही समयअघि भएको एक प्रेम विवाह हो। मकवानपुरको मनहरी गाउँपालिका घर भई हाल जीतपुरसिमरा–१६ मा अस्थायी बसोबास गर्दै आएकी बबिता प्रजा र कलैया उपमहानगरपालिका–१६ का स्थायी बासिन्दा रोशन कुमार कुशहवाबीच प्रेम सम्बन्धपछि विवाह भएको थियो।



कानुनअनुसार विवाह दर्ता रोशनको स्थायी ठेगाना कलैया–१६ मा हुनुपर्नेमा जीतपुरसिमरा–४ का वडा सचिव झलकनाथ भट्टराईले आफ्नो कार्यक्षेत्र बाहिर विवाह दर्ता गरिदिएको खुलेको छ। सचिव झलकनाथ भट्टराई, पक्राउ परेका विकल्प भट्टराईका दाजु हुन्।
विवाहपश्चात रोशनका अभिभावकले सम्बन्ध अस्वीकार गरेपछि प्रकरण सम्बन्धविच्छेदतर्फ मोडिएको थियो। जिल्ला अदालत बारामा सम्बन्धविच्छेद दर्ता भई प्रक्रिया पूरा गरिएको उक्त घटनामा ३३ लाख रुपैयाँसम्मको आर्थिक लेनदेन भएको दाबी गरिएको छ। तर, अन्ततः बबिता प्रजाले १५ लाख रुपैयाँ मात्र पाएकी थिइन्।
विवाद चुलिएपछि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सचिव झलकनाथ भट्टराईलाई कलैयामा बोलाएर बयान लिएका थिए। घटनामा संलग्न भनिएका विचौलियामध्ये विकल्प भट्टराई, रामचन्द्र भट्टराईलगायतको नाम सार्वजनिक भएको थियो।
यसैबीच छानबिन अघि बढिरहेको समयमा विकल्प भट्टराईले वडाध्यक्ष हरिदेव खरेलको निजी निवासमै पुगेर गालीगलौज र धम्कीपूर्ण व्यवहार गरेको आरोपमा खरेलले जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका थिए। जाहेरीपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार भट्टराईले जीतपुरसिमरा उपमहानगरपालिका–१६ का वडाध्यक्ष हरिदेव खरेलमाथि गालीगलौज र अभद्र व्यवहार गरेका थिए। सोही आरोपमा उनलाई पक्राउ गरिएको हो।
यस घटनापछि नेकपा (एमाले) जीतपुरसिमरा उपमहानगरपालिका नगर कमिटीले वडाध्यक्षमाथि भएको अभद्र व्यवहारको कडा विरोध जनाउँदै प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ।
नगर कमिटी अध्यक्ष त्रिलोक विक्रम शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्वाचित जनप्रतिनिधिको घरमै पुगेर गरिएको गालीगलौज र धम्कीपूर्ण व्यवहार गम्भीर आपराधिक गतिविधि हो। यस्तो गैरकानुनी काममा संलग्न व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ।”
विज्ञप्तिमा सचिव झलकनाथ भट्टराईद्वारा कार्यक्षेत्र बाहिर गएर गरिएको विवाह दर्ता कानुनविपरीत रहेको भन्दै त्यस्ता कार्यमा संलग्न कर्मचारी र व्यक्तिहरूलाई पनि कानुनी दायरामा ल्याउन प्रशासनसँग माग गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराले घटनाको अनुसन्धान अघि बढिरहेको बताउँदै संबद्ध सबैमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।






