विदेश अध्ययनका लागि सल्लाह तथा मार्गदर्शन दिने उद्देश्यले स्थापना गरिएको क्यारियर क्रिएटिभ एजुकेशनल कन्सल्टेन्सी (सिसिईसि)ले आफ्नो चौथो शाखा बाराको कलैया उपमहानगरपालिका–१ मा विस्तार गरेको छ । शनिबार कलैयास्थित बरेवा दरबार होटल एन्ड ब्यांक्वेटको सभाहलमा आयोजित औपचारिक कार्यक्रममा सिसिईसिको कलैया शाखा उद्घाटन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख राजिव यादवले हाल शिक्षालाई नाफामुखी व्यवसायको रूपमा बदल्ने प्रवृत्ति बढिरहेकोमा चिन्ता व्यक्त गरे । ‘शिक्षा जस्तो पवित्र क्षेत्रमा व्यापार र ठगीको प्रवृत्ति बढ्दै गएको छ, जुन अत्यन्तै निन्दनीय र गम्भीर विषय हो,’ उनले भने, ‘विदेश जान चाहने विद्यार्थी र अभिभावकले पर्याप्त जानकारी र विवेकको आधारमा निर्णय लिनुपर्छ।’

उनले कलैयाबाट विदेश अध्ययनका लागि जाने विद्यार्थीहरू ठगिन नदिन प्रशासन र स्थानीय तह पनि सधैं सतर्क रहने प्रतिवद्धता व्यक्त गरे। ‘हामी चाहन्छौं कि कलैयाबाट एक जना पनि विद्यार्थी गलत सूचना वा दलालको फन्दामा परेर धोका नपाओस्,’ यादवले भने।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा उपस्थित अधिवक्ता तथा युवा नेता डा. सुशील साहले यस्ता कन्सल्टेन्सीहरूको सकारात्मक भूमिकालाई स्वागतयोग्य भन्दै स्थानीय तहको शैक्षिक विकासमा प्रत्यक्ष योगदान र्पुयाउने विश्वास व्यक्त गरे। ‘आजको समयमा धेरै विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न विदेश जान आतुर छन,’ उनले भने, ‘तर सबैको मार्ग सहि होस् भन्ने काम कन्सल्टेन्सीहरूले गर्नुपर्छ।’

उनले सिसिईसिले विदेश पढ्न चाहने युवाहरूलाई भ्रमित हुन नदिई सही निर्णय लिन सघाउने संस्थाको रूपमा स्थापित होस् भन्ने कामना व्यक्त गरे।

यस्तै कार्यक्रममा प्रेस चौतारी नेपालका सचिवालय सदस्य तथा मधेस प्रदेश इन्चार्ज अच्युत पौडेलले नेपालको शैक्षिक वातावरणको सम्भावना र चुनौतीबारे चर्चा गरे। उनले भने, ‘हामी नेपालीहरू चिसो ठाउँ पायो कि होटल खोल्ने सपना देख्छौं, तर त्यही ठाउँलाई शैक्षिक हव बनाउनेबारे सोच्दैनौं । यही सोच बदल्न जरुरी छ ।’

उनले देशमै उच्च शिक्षा हासिल गर्न सक्ने वातावारण निर्माण गर्नुपर्ने र त्यसका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने सुझाव दिए। ‘विदेश पलायन घटाउनको लागि नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउनुको विकल्प छैन,’ उनले थपे ।

सिसिईसिका प्रबन्धक अशोक कुमार साहका अनुसार यो संस्था हाल काठमाडौं, बनेपा, जनकपुर र कलैया गरेर देशभर चारवटा शाखासहित सञ्चालनमा छ। ‘हामीले विद्यार्थीको भबिष्यलाई ध्यानमा राख्दै पारदर्शिता, प्रामाणिकता र गुणस्तरीय सेवाको नारा बोकेर अघि बढिरहेका छौं,’ साहले भने।

कार्यक्रममा कलैया शाखाका प्रमुख विशाल गुप्ता, बनेपा शाखा प्रमुख राजकुमार घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पास्वान, मधेस प्रदेश महासंघका कोषाध्यक्ष अनिल गौरव, बाराका उपाध्यक्ष पन्नालाल दास, स्थानीय शिक्षक, र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

शाखा उद्घाटनसँगै सो दिन संस्थाले आफ्नो सेवालाई पारदर्शी, विश्वसनीय र विद्यार्थीमैत्री बनाउने प्रतिबद्धता पनि सार्वजनिक रूपमा दोर्होयाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय