नारायणघाटबाट लागुऔषध गाँजा बोकेर यात्रा गरिरहेका एक पुरुषलाई बारामा पक्राउ गरिएको छ। उनको साथबाट प्रहरीले झण्डै साढे ७ किलो गाँजा बरामद गरेको छ।
बुधवार दिउँसो करिब ३ बजे बाराको जीतपुरसिमरा उपमहानगरपालिका- १ पथलैया चोकमा चेकजाँचका क्रममा प्रहरीले ना ५ ख ४८२२ नम्बरको यात्रुबाहक बस रोकेको थियो। नारायणघाटबाट मलंगवा जाँदै गरेको सो बसमा सवार एक यात्रुको झोलामा शंका लागेपछि खोजतलास गर्दा झोलाभित्र लुकाएर राखिएको ७ किलो ४७० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।



बाराको पथलैया प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक बब्बि बम्जनको नेतृत्वमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो।
पक्राउ पर्ने व्यक्ति सर्लाहीको विष्णु गाउँपालिका- ३, मधुवनगोठका ५४ वर्षीय विरेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
उनका अनुसार चौधरीलाई आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान भइरहेको छ। लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिमाथि निगरानी बढाइएको पण्डितले बताए।






