काठमाडौं – घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बालुवाटार पुगेर उनले राजीनामा बुझाएका हुन्।

मन्त्री पदबाट राजीनामा दिएलगत्तै गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना भावना सार्वजनिक गरेका छन्। केही दिनदेखि आफ्नो नाम ‘घुस डिल’ सँग जोडेर प्रचार भएको उल्लेख गर्दै उनले आफू त्यसकै शिकार बनेको बताएका छन्।

गुप्ताले लेखेका छन्, ‘‘बिगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भए।’’

उनले आफूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्। ‘‘अब लागेका आरोप अनुसन्धान गरेर सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा दिएको छु,’’ गुप्ताको भनाइ छ।

गुप्ताले आफू प्रविधिको ‘उच्चतम प्रयोग’ को शिकार बनेको दाबी गर्दै अब कोही पनि त्यस्तो शिकार नबुन् भन्ने अपेक्षा व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘‘प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरू कोही पनि नबुन् भन्ने अपेक्षा गर्दै, आजसम्म विभिन्न रूपमा आफुलाई सहयोग गर्नुहुनेहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’’

साथै, उनले पार्टीले दिएको जिम्मेवारीप्रति प्रतिबद्धता दोहोर्याएका छन्। “अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घर–दैलोमा आउने प्रण गर्दछु,” गुप्ताले फेसबुकमा लेखेका छन्।

केही दिनअघि कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुखको सरुवा रोक्ने र भूमि समस्या समाधान आयोग कास्कीका अध्यक्ष नियुक्ति गरिदिने भन्दै मन्त्री गुप्ताले ७८ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको थियो। उक्त अडियो सार्वजनिक भएपछि उनी चर्को विवादमा मुछिएका थिए।

पार्टीभित्रैबाट पनि राजीनामा दिन दबाब परेपछि उनले पदबाट अलग हुने निर्णय लिएका हुन्। राजीनामा पछि अब यो प्रकरणमा छानबिन अघि बढ्ने संकेत देखिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय