प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व लिएको वर्तमान सरकारको एक वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभामा नेकपा (एमाले) का सांसद अच्युत प्रसाद मैनालीले विशेष समयमा बोल्दै ओली सरकारको कार्यकाललाई ‘परिवर्तन सम्भव भएको’ अवधि भनेर चित्रित गरेका छन्।
सांसद मैनालीले संसदमा सम्बोधन गर्दै वर्तमान सरकारले राजनीतिक स्थिरता, संविधान संशोधन, सुशासन, पूर्वाधार विकास, आर्थिक सुधार र अन्तर्राष्ट्रिय सम्बन्धको सुदृढीकरणमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरे। उनले भने, “सक्षम, अनुभवी र दृढ इच्छाशक्ति भएको राजनीतिक नेतृत्वमा सरकार सञ्चालन हुँदा परिवर्तन सम्भव रहेछ भन्ने प्रमाणित भएको छ।”



पूर्वाधार निर्माणमा तीव्रता
सांसद मैनालीका अनुसार ओली सरकारले घोषणा गरेको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान निर्माण अन्तिम चरणमा पुगेको छ। यस्तै, दैलेखको पेट्रोलियम उत्खनन, नागढुङ्गा–सिद्धबाबा सुरुङ मार्ग, नारायणगढ–बुटवल सडक, मुग्लिन–पोखरा सडक लगायतका पूर्वाधार आयोजनामा तीव्रता आएको उनले बताए। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्र्याक २०८४ मा सञ्चालनमा आउने सुनिश्चितता भएको मैनालीको भनाइ थियो।
संक्रमणकालीन न्याय अघि बढ्दै
सांसद मैनालीले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण, आयोग गठन र प्रक्रियागत काम अघि बढाइएको जानकारी दिए। उनका अनुसार यसले द्वन्द्व पीडितको न्याय सुनिश्चिततामा टेवा पुर्याउनेछ।
आर्थिक सूचकहरूमा सुधार
ओली सरकारको नेतृत्वमा आर्थिक सूचकांकमा पनि सकारात्मक सुधार आएको मैनालीले दाबी गरे। “विश्व बैंकले ४.५ प्रतिशतको प्रक्षेपण गरे पनि अहिलेको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत पुगेको छ,” उनले भने। मौद्रिक नीतिले निजी क्षेत्रलाई लगानीमैत्री बनाएको, मुद्रास्फीति २.७ प्रतिशतमा सीमित रहँदा बजार स्थिर भएको र विदेशी मुद्रा सञ्चिति २५ खर्ब ६९ अर्ब नाघेको उनले बताए।
शेयर बजारमा लगानी बढाउन शेयर धितोमा कर्जा सीमा १५ करोडबाट २५ करोड पुर्याइएको, आवासीय कर्जाको सीमा २ करोडबाट ३ करोड बनाइएको र विदेशी लगानी आकर्षणका लागि कानूनहरु सरल बनाइएको उनले उल्लेख गरे।
सामाजिक सुरक्षामा विस्तार
स्वास्थ्य क्षेत्रमा सरकारले ठूलो निर्णय लिएको उल्लेख गर्दै सांसद मैनालीले मुटु, क्यान्सर, मृगौला, हेड इन्जुरी लगायत आठ प्रकारका रोगमा उपचार खर्चको सुविधा दोब्बर बनाइएको जानकारी दिए।
भूमि तथा सुकुमबासी समस्या समाधानतर्फ प्रगति
भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण प्रक्रिया अगाडि बढेको र यसले वर्षौं देखिको बसोबासलाई कानुनी अधिकारमा परिणत गरेको सांसद मैनालीले बताए।
अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण
प्रधानमन्त्री ओलीले अमेरिका, थाइल्यान्ड, स्पेनलगायत देशको भ्रमणमार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षमा प्रभावशाली धारणा राखेको सांसद मैनालीको भनाइ थियो। जलवायु परिवर्तनका कारण पग्लिँदै गरेका हिमाल र त्यसको असरबारे प्रधानमन्त्रीले आवाज उठाउनु महत्वपूर्ण भएको उनले बताए।
संघीयता कार्यान्वयनमा गम्भीरता
संघीयता कार्यान्वयनमा जोड दिँदै निजामती, शिक्षा, प्रहरी तथा भूमि सम्बन्धी विधेयकहरुलाई प्राथमिकतामा राखेर संसदबाट पारित गर्ने प्रक्रिया अघि बढाइएको मैनालीले बताए।
सांसद मैनालीले आफ्नो मन्तव्यको अन्त्यमा भने, “कसैको व्यवहार बोल्छ, कसैको मौनता, तर अन्ततः सबैको कर्म बोल्छ। वर्तमान सरकारले कर्ममार्फत आफ्ना प्रतिबद्धता प्रमाणित गरिरहेको छ।”






