बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल्स लिमिटेडको स्टिल उत्पादन प्लान्टमा बुधबार राति अचानक भट्टी पड्किँदा एक जना कामदार घाइते भएका छन।

घटनाबारे विस्तृत जानकारी अनुसार बुधबार राति करिब ९ः१५ बजे सि. सि. एम. प्लान्टमा कच्चा फलाम पगाल्ने क्रममा ३० टन क्षमताको भट्टी अचानक पड्किएको हो । सो क्रममा भारतको बिहार राज्य, समस्तीपुरका ३५ वर्षीय अजय बैठा घाइते भएका हुन । उनी हाल वीरगञ्जस्थित एल. एस. न्युरो अस्पतालमा उपचाररत छन ।

भट्टी पड्किएसँगै प्लान्टभित्र आगलागी भएको र त्यसबाट ठूलो मात्रामा भौतिक क्षति पुगेको बताइएको छ । यद्यपि, अन्य मानवीय क्षति भने नभएको स्पष्ट गरिएको छ ।

घटनापछि तत्कालै सुरक्षाकर्मी, स्थानीय प्रशासन र उद्धार टोली घटनास्थल पुगेका थिए । बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारीले समेत घटनास्थलमा पुगेर स्थलगत अवलोकन गरेका थिए । उनले घटनामा एक जना मात्रै घाइते भएको पुष्टि गर्दै अन्य कुनै पनि मानवीय क्षति नभएको स्पष्ट पारे।

अफवाहप्रति गम्भीर आपत्ति
घटनापछि विभिन्न सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा अफवाहपूर्ण र अपुष्ट खबरहरू प्रकाशित–प्रसारित भइरहेकोप्रति कम्पनीले गम्भीर ध्यानाकर्षण गराएको छ ।

जगदम्बा स्टिल्स लिमिटेडले एक विज्ञप्ति जारी गर्दै घटनाबारे आधिकारिक पुष्टि नगरी समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारकर्मी, सञ्चार संस्था र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूप्रति हार्दिक अपिल गरेको छ । कम्पनीले संवेदनशील विषयमा अफवाह फैलाउँदा उद्योग र स्थानीय वातावरण दुवैमा नकारात्मक असर पर्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

उद्योग विस्थापनको चिन्ता
कम्पनीले विगतमा पनि सञ्चार माध्यममा निराधार खबरहरू प्रसारण हुँदा पथलैया–वीरगञ्ज कोरिडोर क्षेत्रमा रहेका उद्योग विस्थापित हुने अवस्था आएको उल्लेख गरेको छ ।

‘एकातर्फ यहाँ उद्योग विस्थापित भइरहेका छन भने अर्कातर्फ भैरहवा–बुटवल क्षेत्रमा भने उद्योग थपिंदै गएका छन,’ एक अधिकारीले भने, ‘यस क्षेत्रको औद्योगिक भविष्य र लगानीमैत्री वातावरणमा नकारात्मक असर पुग्ने खालका समाचार प्रकाशन गर्नु दुर्भाग्यपूर्ण छ।’

उद्योगहरूमाथि नकारात्मक प्रभाव पर्ने खालका समाचारहरू फैलिँदा यस क्षेत्रका लाखौं मजदुर रोजगारी गुमाउने खतरा रहेको बताएका छन । उनीहरूको भनाइमा साना व्यवसाय, पसल र दैनिक श्रममा आश्रित जनताको जीवनमा समेत असर पर्ने खतरा छ ।

अनुसन्धान जारी
कम्पनी र स्थानीय प्रशासन दुवैले घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन । घटनाको यथार्थ विवरण आउन बाँकी रहेकाले पुष्टि नभएका सूचनामा विश्वास नगर्न सबैलाई आग्रह गरिएको छ।

प्रशासन र कम्पनीले पुष्टि नभएका सूचना वा अफवाहमा विश्वास नगर्न र आधिकारिक जानकारी प्राप्त गर्न अपिल गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय