बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा रहेको जगदम्बा स्टिल प्राइभेट लिमिटेडको भट्टी पड्किँदा एक जना भारतीय नागरिक घाइते भएका छन ।

मंगलबार राति करिव दुईसयभन्दा वढी मजदुर काम गरीरहेको समयमा उद्योगमा रहेको भट्टीको पुच्छरभाग अचानक पड्किँदा भारतको बिहार राज्य अन्तर्गत सितामढी घर भएका ३५ वर्षीय अजय बैठा घाइते भएका हुन । उनी भट्टीको छेउमै काम गरिरहेका बेला पड्किएको विस्फोटमा परेर दायाँ हातमा चोट लागेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । घाइते बैठाको वीरगञ्जस्थित एल. एस. न्युरो एण्ड जनरल अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद प्रकाश जोशीका अनुसार भट्टीको तल्लो भाग पड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको हो। ‘ठूलो मानवीय क्षति नभए पनि एक मजदुर घाइते भएका छन्,’ डीएसपी जोशीले भने, ‘भट्टीको विस्फोटको कारण भने अझै खुलेको छैन।’

उनका अनुसार घटनास्थलमा प्रहरीको टोली खटिएको छ भने अनुसन्धान कार्य अघि बढाइएको छ । स्थानीयवासीका अनुसार पड्किएसँगै कारखानाभित्र ठूलो आवाज आएको थियो र केही समय अफरातफरीको अवस्था सिर्जना भएको थियो।

जगदम्बा स्टिल बाराको एक प्रमुख उद्योग हो, जहाँ दैनिक सयौं मजदुर कार्यरत छन्। उद्योगमा यसअघि पनि यस्ता दुर्घटनाहरू हुने गरेकाले सुरक्षा व्यवस्थामा गम्भीर ध्यान दिनुपर्ने स्थानीय मजदुरहरूले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय