बारा जिल्लाको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा घरेलु विवादका कारण श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
कलैया उपमहानगरपालिका–१० मटिअर्वामा घर भएका ३५ वर्षीय बच्चा मियाँले आफ्नी २३ वर्षीया श्रीमती सहिना खातुनलाई मासु काट्ने दाउले टाउको र घाटीमा प्रहार गरी हत्या गरेका हुन्। सहिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।



प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर बच्चा मियाँलाई हत्यामा प्रयोग गरिएको दाउसहित नियन्त्रणमा लिएको छ। हाल उनलाई प्रहरी चौकी मटिअर्वामा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको कमाण्डमा अनुसन्धान टोली खटिएको छ भने घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डीएसपी० विजयराज पवण्डतले जानकारी दिएअनुसार, “घरेलु विवादका कारण घटना घटेको प्रारम्भिक अनुमान गरिएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ। अभियुक्तले प्रयोग गरेको हतियार बरामद गरिएको छ र कानुनी प्रकृया अनुसार अगाडि बढाइएको छ।”
मृतकको शव घरमै रहेको र कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना बारे थप विवरण संकलन भइरहेको छ र आवश्यक अनुसन्धानपछि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइनेछ।






