
बारा जिल्लाका १६ स्थानीय तहमध्ये १३ पालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट तोकिएको मिति भित्रै सार्वजनिक गरेका छन । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र सुवर्ण गाउँपालिका भने अझै बजेट सार्वजनिक गर्न चुकेका छन ।
संविधानतः प्रत्येक स्थानीय तहले असार १० गतेभित्र आगामी वर्षको कार्ययोजना र खर्च योजना (बजेट) सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ । तर वर्षेनीजस्तै यसपालि पनि बाराका केही पालिकाहरू यो प्रक्रिया समयमै सम्पन्न गर्न असफल देखिएका छन ।



जिल्लाको सदरमुकाम रहेको कलैया उपमहानगरपालिकाले यस वर्ष समेत सबैभन्दा ठूलो बजेट सार्वजनिक गर्दै नेतृत्व कायम राखेको छ । उपमहानगरले १ अर्ब ७२ करोड ७३ लाख ८७ हजार ७ सय ४९ रुपैयाँको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो । दोस्रो ठूलो बजेट महागढीमाई नगरपालिकाले सार्वजनिक गरेको छ, जसले ८१ करोड ५८ लाख ७९ हजार ३ सय २१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । त्यसपछि कोल्हवी नगरपालिकाले ७९ करोड २३ लाख रुपैयाँ बराबरको नीति तथा बजेट प्रस्तुत गरेको छ भने सिम्रौनगढ नगरपालिकाले ६७ करोड ७१ लाख ३१ हजार ५८ रुपैयाँ बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
पचरौता नगरपालिकाले ६५ करोड ३१ लाख ८६ हजार ९ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आदर्श कोतवाल गाउँपालिकाले ४५ करोड ५३ हजार ५९ रुपैयाँ, करैयामाईले ४३ करोड ७२ लाख ९८ हजार ९ सय २२, बारागढीले ४१ करोड ९० लाख ६१ हजार २ सय ३८, प्रसौनीले ४१ करोड १ लाख, फेटाले ४० करोड ९ लाख २२ हजार ३ सय ४४ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन ।
त्यसैगरी देवताल गाउँपालिकाले ३८ करोड ८५ लाख ९९ हजार ५ सय ५६, परवानीपुरले ३४ करोड ३४ लाख ६९ हजार १ सय ५८, र विश्रामपुर गाउँपालिकाले ३२ करोड १० लाख ४९ हजार ५ सय ८८ रुपैयाँ बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन ।
यसबाहेक जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाले असार १० सम्म पनि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न सकेका छैनन् । दुबै पालिकाको बजेट तयारी प्रक्रिया ढिलो हुनुका पछाडि आन्तरिक समन्वयको कमी, योजना निर्माणमा विलम्ब र राजनीतिक असहमति रहेको बताइएको छ ।
यता सुवर्ण गाउँपालिकाले भने आगामी असार १८ गते नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिएको छ । ढिलाइ गर्ने पालिकाहरूले आन्तरिक समन्वय अभाव, प्राविधिक कमजोरी र तयारीमा कमी देखिएको जनाइएको छ ।