श्री रिपुमर्दन गणको समन्वयमा बारा जिल्लाका विभिन्न विद्यालयमा सि.स. ५१ जुनियर डिभिजन तालिम अन्तर्गत ‘प्रथम प्रवचन’ कार्यक्रम सम्पन्न गरिएको छ।

गणअन्तर्गत रहेका गणपति प्रमुख सेनानी अशोक कुमार क्षेत्री र ज्येष्ठ सेनानी सुभाष पौडेलको विशेष उपस्थितिमा सोमबार उक्त प्रवचनहरू सम्पन्न गरिएको हो ।

प्रथम प्रवचन कार्यक्रम श्री नेपाल राष्ट्रिय मावि, मटिअर्वा (कलैया उपमहानगरपालिका–१०) र श्री नेपाल राष्ट्रिय मावि, फेटा (फेटा गाउँपालिका–३) मा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा दुबै विद्यालयबाट छात्रछात्रा १५–१५ जना गरी कुल ६० जना सहभागी थिए । प्रवचन गणपति प्रमुख सेनानी अशोक कुमार क्षेत्रीले दिएका थिए ।

त्यस्तै, श्री कलैया ग्यालेक्सी पब्लिक स्कुल, भवानीपुर (कलैया उपमहानगरपालिका–९) र श्री नेपाल राष्ट्रिय मावि, कवही जगात (सुवर्ण गाउँपालिका–२) मा पनि समान संख्यामा शिक्षार्थी सहभागी गराइएका थिए । सो अवसरमा ज्येष्ठ सेनानी सुभाष पौडेलले प्रवचन दिएका थिए ।

सैनिक तालिम अनुशासन र राष्ट्रसेवाको आधार
प्रवचनको क्रममा सेनानी क्षेत्रीले विद्यार्थीहरूलाई सैनिक तालिमको महत्त्वबारे जानकारी दिए । उनले जीवनमा अनुशासन, समयको सही उपयोग, नेतृत्व क्षमता, तथा आत्मनियन्त्रण विकासका लागि यस्तो तालिम आवश्यक भएको बताए ।

‘सैनिक तालिमले विद्यार्थीहरूमा राष्ट्रप्रेम, कर्तव्यबोध र उच्च नैतिक मूल्य विकास गर्छ,’ उनले भने, यसले विपद् व्यवस्थापनदेखि समाजसेवासम्मको व्यवहारिक ज्ञान प्रदान गर्छ ।’

त्यस्तै, ज्येष्ठ सेनानी सुभाष पौडेलले तालिमबाट उत्पन्न हुने टोली भावना, सहकार्यको संस्कार, नेतृत्व क्षमताको विकास र राष्ट्रप्रतिको उत्तरदायित्वबारे विद्यार्थीलाई जानकारी गराए ।

सकारात्मक सोच र आत्मविश्वासको विकास
सैनिक तालिमले विद्यार्थीहरूलाई शारीरिक रूपमा तन्दुरुस्त, मानसिक रूपमा दृढ र आत्मविश्वासी बनाउने सेनानीहरूको भनाइ छ । तालिमबाट शिक्षार्थीहरूमा सकारात्मक सोच, जिम्मेवारीबोध र राष्ट्रसेवाको भावना उत्पन्न हुने विश्वास गरिएको छ ।

उक्त तालिम कार्यक्रम स्थानीय तह, विद्यालय प्रशासन र सेनाको समन्वयमा सफलतापूर्वक सम्पन्न भएको आयोजक पक्षले जनाएको छ । सहभागी विद्यालय र विद्यार्थीहरूले तालिमलाई प्रभावकारी र जीवन उपयोगी रहेको प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय