
Death Body
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–५ टुसालमा एक युवकको कुटपिट गरी हत्या गरिएको घटनामा संलग्न रहेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बारा निजगढ नगरपालिका–८ का जित बहादुर तामाङको ३२ वर्षीय छोरा कृष्ण लामाको कुटपिटबाट मृत्यु भएपछि घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार कृष्ण लामा आफ्ना साथी विकास लामालोको बहिनीको जन्मदिन मनाउन असार ६ गते राति टुसालस्थित लामालोको कोठामा गएका थिए। सोही बेलामा उनीमाथि कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका लामाको त्यहीँ मृत्यु भएको बताइएको छ।



प्रहरीले घटनापछि फरार रहेका चार जना अभियुक्तलाई असार ७ गते पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा मकवानपुर घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–५ टुसाल बस्ने ३२ वर्षीय विकास लामालो, बारा निजगढ नगरपालिका–७ का २९ वर्षीय सुगन्ध लामा, निजगढ नगरपालिका–५ का १८ वर्षीय सौगात क्षेत्री र मकवानपुरको बकैया गाउँपालिका–२ का २३ वर्षीय निसान जिम्भा छन्।
‘कुटपिटबाट गम्भीर घाइते भएका कृष्ण लामाको मृत्यु भएपछि हाम्रो टोली खटेर अनुसन्धान अघि बढायौँ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले भने, ‘अभियुक्तहरूलाई पाँच दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको छ।’
घटनाको कारण खुल्न नसकेको भए पनि अनुसन्धानपछि थप तथ्य सार्वजनिक गरिने प्रहरीको भनाइ छ। हत्या घटनाले स्थानीय क्षेत्र त्रसित बनेको छ। प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगञ्जमा पठाएको जनाएको छ।