निजगढ नगरपालिका–१३ मा अवस्थित जनस्वास्थ्य सरोकार केन्द्रमा लामो समयदेखि अनियमितता हुँदै आएको भन्दै स्थानीयले कडा आपत्ति जनाएका छन्।

स्थानीयको दाबी अनुसार, उक्त संस्थामा रहेकाे ना २ च ३४९३ नम्बरको एम्बुलेन्सलाई केन्द्रका अध्यक्ष धनबहादुर खुलालको नेतृत्वमा बिक्री गरिएको छ। एम्बुलेन्सजस्तो जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने साधनको दुरुपयोगप्रति स्थानीयले गम्भीर ध्यानाकर्षण गराउँदै कानुनी कारबाहीको माग गरेका छन्।

स्थानीय बुद्धिलाल स्याडतानले जिल्ला प्रशासन कार्यालय बारामा निवेदन दिँदै खुलालमाथि सार्वजनिक सम्पत्तिको दुरुपयोग, संस्थाको मनोमानी सञ्चालन र स्थानीय सहभागिताको उपेक्षा गरेको आरोप लगाएका छन्।

“विगत ६ वर्षदेखि संस्थाको सञ्चालनमा स्थानीय जनताको कुनै सहभागिता छैन,” निवेदनमा उल्लेख छ, “समाज र कानुनी संरचनाको खुला उल्लंघन भइरहेको छ, तर सम्बन्धित निकाय मौन छन्।”

स्याडतानका अनुसार यसअघि पनि जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित विषयमा उजुरी दिइएको थियो, तर आवश्यक कार्यवाही नहुँदा पुनः औपचारिक रूपमा ध्यानाकर्षण गराइएको हो।

जनस्वास्थ्यजस्तो संवेदनशील विषयसँग जोडिएको संस्थामा पारदर्शिता, उत्तरदायित्व र स्थानीय सहभागिता सुनिश्चित गर्नुपर्ने माग स्थानीयले गरेका छन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालय बाराले उक्त निवेदन दर्ता भईसकेको जानकारी दिँदै, थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयलाई जिम्मा दिइएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय